रवि-बालेन वार्ता चलिरहँदा गेटमा सुधन गुरुङको ठट्यौली- ‘सहमति नजुटेसम्म ताला खोलिँदैन’

रवि-बालेन वार्ता चलिरहँदा गेटमा सुधन गुरुङको ठट्यौली- ‘सहमति नजुटेसम्म ताला खोलिँदैन’

काठमाडौं : वैकल्पिक राजनीतिको भविष्य कोर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ‘वान टू वान’ वार्ता चलिरहँदा घरबाहिर भने रोचक दृश्य देखिएको छ।

ललितपुरको कुपण्डोलस्थित वार्तास्थलको गेट बाहिर उभिएका जेन-जी आन्दोलनका अगुवन भनिएका सुधन गुरुङसहितको टोलीले दुई नेताबीच सहमति नजुटेसम्म उनीहरूलाई बाहिर निस्किन नदिने भनेका छन्।

बैठक चलिरहेको घरको गेटमा पाले जसरी उभिँदै गुरुङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गरेका छन्। भिडियोमा उनले रवि र बालेनबीच ठोस सहमति नभएसम्म आफूहरूले गेट नखोल्ने बताएका छन्।

गुरुङले भनेका छन्, ‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लगाएर राखिदिएका छौं।’

उनले आफूहरू त्यहाँ ‘गार्ड’ को रूपमा बसेको र कोही पनि भित्र पस्न र बाहिर निस्किन नमिल्ने गरी थुनिदिएको ठट्यौली पारामा बताएका छन्।

भिडियोमा उनले भनेका छन्, ‘हामी यहाँ अब गार्ड! कोही पनि भित्र छिर्दैन, कोही पनि बाहिर जाँदैन। दुवैजना थुनिनुभयो। कुरा नमिलेसम्म यत्तिकै हो।’

भिडियोमा सँगै रहेका अर्का व्यक्तिले ‘दाइले साँचो लगाउनुभयो भनेर खबर आइरहेको छ त ?’ भनेर सोध्दा साजनले ‘साँचो त हामीले बोकिसक्यौं’ भन्दै जवाफ फर्काएका छन्।

उनले भिडियोको क्याप्सनमा पनि लेखेका छन्- ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं। We have locked the doors.’

पुष १०, २०८२ बिहीबार १४:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।