नेपाल ट्रस्ट जग्गा प्रकरण : ५ अर्ब बिगोमा १० र ६ लाख धरौटी, घर घुसमा मौन

नेपाल ट्रस्ट जग्गा प्रकरण : ५ अर्ब बिगोमा १० र ६ लाख धरौटी, घर घुसमा मौन

काठमाडौं : पाँच अर्ब बिगो दाबी गरेको नेपाल ट्रस्टको जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले लेखबहादुर कार्कीसँग १० लाख र पूर्वसचिव अर्जुनकुमार कार्कीसँग ६ लाख रुपैयाँ धरौटी माग गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौँले पुस २ गते पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो।

उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो।

यही प्रकरणमा केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य घर घुसमा जोडिएका थिए।

सीआईबीले उनीमाथि भ्रष्टाचारमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरे पनि सरकारी वकिलको कार्यालयले निर्णय पेन्डिङमा राखेको छ। यता ओली भने बज्राचार्यले घुस नखाएको भन्दै उनको प्रतिरक्षामा उत्रिइसकेका छन्।

पुष १०, २०८२ बिहीबार १२:४२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।