सभापति देउवासँग थापा असन्तुष्ट : भने- कार्यवाहक सभापति 'नाम मात्रको' भयो

सभापति देउवासँग थापा असन्तुष्ट : भने- कार्यवाहक सभापति 'नाम मात्रको' भयो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले सुम्पिएको कार्यवाहक सभापति 'नाम मात्रको' भएको टिप्पणी गरे। 

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पार्टी सञ्चालन र शक्ति अभ्यासको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यकारी जिम्मेवारी सुम्पिएपछि शक्तिको साँचो भने नसुम्पिएको उनको भनाइ थियो। कार्यवाहक सभापति हातभन्दा बाहिरैबाट शक्तिको अभ्यास भइरहेको थापाको आरोप छ। 

उनले भने, ‘म पार्टी सभापतिलाई आग्रह गर्छु। उहाँले कार्यवाहक दिनुभएको छ। तर उहाँले कार्यवाहक दिँदै गर्दा नाम मात्रैको भएको छ। आज बैठकमा आउनुभएको छैन। तर बाँकी रहेको बैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ।’

थापाले सभापति देउवालाई कि त पूर्ण जिम्मेवारी सुम्पिन, कि त स्वयं उपस्थित भएर ठोस निर्णय लिन आग्रह गरे। महाधिवेशनको मिति तय भइसकेको अवस्थामा त्यसबारे अनावश्यक छलफल गरेर समय खेर फाल्नु नहुनेमा उनको जोड थियो। पार्टीभित्रको आन्तरिक अल्झनमै धेरै बितेको उल्लेख गर्दै उनले फेरि पनि महाधिवेशन गर्ने विषयमा आलटाल नगर्न चेतावनी दिए। 

थापाले भने, ‘कांग्रेसले गएको एक डेड महिनाभित्रमा खालि आफ्नो पार्टी कार्यालयभित्र बसेका छौं हामीले अनावश्यक समय खेर फालिसक्यौ। अब फेरि समय खेर फाल्ने कुरा हुँदैन। आलटाल गर्ने कुरा हुँदैन। यसरी महाधिवेशनमा जाँदैनौं भन्ने हो भने विकल्प खुला छ। साथीहरूले माग राख्नुभएको छ, त्यो पनि विधानले भनेको छ। विशेष महाधिवेशन गर्ने र त्यहीबाट अधिवेशनले गर्ने निर्णय गर्छ।’

थापाले पार्टी हितका निम्ति अधिवेशन सुनिश्चित गरेर सम्पूर्ण जिम्मेवारीबाट अलग भएको अवस्थामा मात्रै सभापति देउवाले वास्तविक रूपमा अभिभावकीय भूमिका निर्वाह गरेको बोध सिंगो पार्टीलाई हुने धारणा व्यक्त गरे। 

पुष ९, २०८२ बुधबार १८:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।