जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकताको सहमति भएको छ। सोमबार ललितपुरको बालकुमारीस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा दुवै पक्षले कार्यगत एकता घोषणा गरेका हुन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले सहमति पत्रमा हस्ताक्षर गर्दै संयुक्तरूपमा संघर्ष अघि बढाउने सहमति गरे। हाललाई मुद्दाका आधारमा कार्यगत एकता गरी अगाडि बढ्ने र भविष्यमा आवश्यकता अनुसार पार्टी एकतासम्म गर्न सकिने समझदारी दुई पक्षबीच भएको छ।
घोषणापत्रमा वर्तमान निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यसैगरी, स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधार बनाउनुपर्नेमा जोड दिँदै त्यहाँ दलविहीन निर्वाचन प्रणाली हुनुपर्ने धारणा दुवै पक्षले अघि सारेका छन्।
वर्तमान संविधानका कतिपय प्रावधान अधुरो र विभेदकारी रहेको ठहर गर्दै यसको संशोधन, परिमार्जन वा आवश्यकता अनुसार पुनर्लेखनका लागि दबाब दिने सहमति समेत भएको छ। मुलुकको विविधतालाई सम्बोधन गर्न 'राज्य-राष्ट्र'को अवधारणा स्थापित गर्ने र संघीयतालाई थप मजबुत बनाउँदै प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन दुवै पक्षले सहकार्य गर्ने जनाए।
यसका साथै मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम तथा अल्पसंख्यक समुदायको पहिचान र अधिकारका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ। राज्यका हरेक तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन संयुक्त आन्दोलन गर्ने प्रतिबद्धता समेत दुई पक्षले व्यक्त गरेका छन्।
पुष ९, २०८२ बुधबार १८:०७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।