राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

काठमाडौं : जेनजी आन्दोलनपछिको राजनीतिक संवादहीनता तोडिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पहिलो पटक प्रमुख राजनीतिक दल र सरकारबीच छलफल भएको हो।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’बीच संयुक्त रूपमा भेटवार्ता भएको छ।

उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री र प्रमुख दलका नेताहरूबीच जेनजी आन्दोलनपछि संवाद हुन नसकेको अवस्थामा राष्ट्रपति पौडेलको पहलकदमीले भएको यो भेटवार्ता राजनीतिक निकासका लागि नयाँ बाटो खोलेको विश्लेषण गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले केही समयअघि 'शीर्ष नेताहरूको मुख हेर्न मन छैन' भनी दिएको सार्वजनिक अभिव्यक्तिका कारण सरकार र दलहरुबीचको सम्बन्ध सुदृढ हुन सकेको थिएन। एमाले अध्यक्ष ओलीले निरन्तर सरकारमाथि राजनीतिक प्रहार गर्दै आएका थिए।

पुष ८, २०८२ मंगलबार १७:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।