निर्वाचन सुनिश्चित गर्न सरकार सक्रिय, कांग्रेस भन्छ- 'वातावरण अझै बनेको छैन'

निर्वाचन सुनिश्चित गर्न सरकार सक्रिय, कांग्रेस भन्छ- 'वातावरण अझै बनेको छैन'

काठमाडौं : सरकारद्वारा गठित राजनीतिक संवाद समितिले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको स्थलगत अनुगमन गरेको छ। 

मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयको अवस्था अवलोकन गरेको हो।

साथै उनीहरूले कांग्रेसका प्रतिनिधिहरूसँग छलफलसमेत गरेका थिए। छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरू वार्तामा गएको जानकारी गराए।

उनले भने, ‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ। चुनावको वातावरण बनाउन र सुनिश्चित गर्न महत्त्वपूर्ण राजनीतिक दलसँग सरकार पनि जानुपर्छ र चुनावको वातावरण पनि बन्छ भनेर हामी सानेपा आएका हौं।’

त्यस्तै छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँधलीरहित हुनको लागि वातावरण अझै पनि आफूहरूले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गरे।

‘निर्वाचन निष्पक्ष,स्वच्छ र धाँधलीरहित हुनको लागि वातावरण अझै पनि हामीले देखिराखेका छैनौं, त्यो बनाउनुहोस्। हाम्रो आग्रह छ,’ उनले भने।

देशको राजनीतिक दलहरूलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुँदे सहमतिको कारणले पनि आफूहरूमा अविश्वास पैदा भएको उनले बताए।

पुष ८, २०८२ मंगलबार १४:३०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।