मानवअधिकार आयोगको घेरामा बालेन शाह, दुई घण्टासम्म चल्यो बयान
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन' को सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमा बयान दिएका छन्।
आन्दोलनका क्रममा युवाहरूलाई उक्साएको र महानगरको साधन प्रयोग गरेर विध्वंसमा सघाएको गम्भीर आरोप लागेपछि आयोगले सोमबार मेयर शाहलाई बोलाएर लामो सोधपुछ गरेको हो।
आयुक्त डा. लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिले मेयर शाहलाई आयोगको कार्यालयमै बोलाएर झण्डै दुई घण्टा बयान लिएको थियो। सो क्रममा अनुसन्धान अधिकृतहरूले आन्दोलनको पूर्वसन्ध्यामा मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रवाह गरेका सन्देशहरू र त्यसले युवा समूहलाई भड्काउन खेलेको भूमिकाबारे प्रश्नहरू राखेका थिए।
आयोगले शाहमाथि आन्दोलनकारीलाई महानगरको स्रोत प्रयोग गरी पानी वितरण गरेको र राज्यका संवेदनशील अंगहरूमा आगजनी तथा तोडफोड हुँदा समेत नियन्त्रणका लागि समयमै दमकल नपठाएर असहयोग गरेको जस्ता गम्भीर विषयमा केन्द्रित रहेर स्पष्टीकरण माग गरेको छ।
भदौको त्यो उथलपुथलकारी घटनामा मेयर शाहको सक्रियता र उनको विवादास्पद फेसबुक स्ट्याटसहरूले हिंसात्मक मोड लिएको भनेर आलोचना भएको सन्दर्भमा आयोगले यसलाई मानवअधिकारको दृष्टिकोणबाट छानबिन गरिरहेको हो। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले घटनाको सत्यतथ्य छानबिनका लागि सरोकारवाला सबैसँग छलफल र सोधपुछ गर्ने क्रम जारी रहेको जानकारी दिए।
पुष ७, २०८२ सोमबार २१:५७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।