श्रम संस्कृति पार्टीमा अनुशासनको डण्डा : उपाध्यक्ष परियार निलम्बित

श्रम संस्कृति पार्टीमा अनुशासनको डण्डा : उपाध्यक्ष परियार निलम्बित

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले पार्टीका उपाध्यक्षमा मित्र परियारलाई पदबाट निलम्बन गरेको छ। अध्यक्ष साम्पाङले एक विज्ञप्ति जारी गरेर परियारलाई अनुशासनको कारबाही गरिएको जानकारी दिए।

विज्ञप्ति भनिएअनुसार पुस ५ गते बुटवलमा आयोजित आमसभामा उपाध्यक्ष परियारले गैरजिम्मेवार र अभद्र व्यवहार प्रदर्शन गरेका थिए। उनले सार्वजनिक मञ्चमै पार्टीको आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र जिल्ला सह-संयोजक केशव न्यौपानेलाई अत्यन्तै निम्नस्तरको र अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ। 

विज्ञप्तिमा भनिएको छ, ''श्रम संस्कृति पार्टीमा कोही नेता या कोही कार्यकर्ता नरहने, सबै श्रमदाता रहने भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै प्रकारको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु।'’

श्रम संस्कृति पार्टीभित्र पदीय मर्यादाभन्दा पनि व्यक्तिगत आचरण र अनुशासनलाई सर्वोपरि मानिने अध्यक्ष साम्पाङले स्पष्ट पारेका छन्।

पुष ७, २०८२ सोमबार २१:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।