सिएफमोटोको ‘२५० डुअल’ नेपाली सडकमा
काठमाडौं : सिएफमोटोको नयाँ मोडल ‘२५० डुअल’ मोटरसाइकल नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ। नेपालका लागि सिएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले यस नयाँ डुअल-स्पोर्ट मोटरसाइकलको सडक परीक्षण सुरु गरेको हो।
नेपालको भौगोलिक अवस्था र सडकको प्रकृतिअनुसार मोटरसाइकलको क्षमता र टिकाउपन मापन गर्न कम्पनीले परीक्षण प्रक्रिया अघि बढाएको जनाएको छ। एड्भेन्चर र अफ-रोड यात्रामा रुचि राख्ने युवा पुस्तालाई लक्षित गरी यो नयाँ मोडल सार्वजनिक गर्न लागिएको हो।
मोटरसाइकलमा विशेषगरी सार्प एंगुलर फ्रन्ट फेसिया, डुअल-स्पोर्ट हेडलाइट र लामो ट्राभल सस्पेन्सन जस्ता विशेषताहरू रहेका छन्। सहरको चिल्लो सडकदेखि ग्रामीण भेगका कच्ची बाटोहरूसम्म सहजै चलाउन सकिने गरी यसमा डुअल-पर्पस टायर र हाई-माउन्टेड एक्जस्ट जडान गरिएको छ।
कम्पनीका अनुसार, यसमा रहेको एर्गोनोमिक डिजाइन र फराकिलो ह्यान्डलबारले लामो दूरीको यात्रालाई आरामदायी बनाउनेछ। इन्डुरो मेसिनबाट प्रेरित यो बाइकमा स्लिम सिट प्रोफाइल र स्कल्प्टेड ट्याङ्क दिइएको छ, जसले गर्दा अफ-रोडमा राइडरलाई पूर्ण नियन्त्रण प्राप्त हुने अपेक्षा गरिएको छ।
पुष ७, २०८२ सोमबार १५:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।