सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ नाघ्यो
काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ।
बैंकका कार्यकारी प्रमुख सुरेश देवकोटाको नेतृत्वमा विशेषगरी खराब कर्जा असुलीमा आक्रामक सुधार भएपछि बैंकका प्रमुख वित्तीय सूचकहरू सकारात्मक देखिएका हुन्।
बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्रतिशेयर आम्दानी रु. ५.४६ बाट बढेर रु. ३१.७६ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि रु. ६३.५० बाट बढेर रु. ९७.२४ कायम भएको छ।
बैंकको निष्क्रिय कर्जा १०.६३ प्रतिशतबाट घटेर ६.०८ प्रतिशतमा झरेको छ भने पुँजीकोष अनुपात सुधार भई १३.०७ प्रतिशत पुगेको छ। पुँजीकोष अनुपात तोकिएको सीमाभन्दा माथि पुगेकाले नेपाल राष्ट्र बैंकबाट लगाइएको शीघ्र सुधारात्मक कारवाही अब हट्ने विश्वास बैंकले लिएको छ।
नेटवर्थमा सुधार आए पनि विगतको संचित नोक्सानीका कारण बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने जनाएको छ। ५ जिल्ला कार्यक्षेत्र रहेको यस बैंकले हाल २५ शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
पुष ७, २०८२ सोमबार ०९:४५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।