सुबिनाको प्रसव पीडा र खुसी : सामान्य होला भनेको तर व्यथा सुरु भएको १५ घण्टा निकै पीडादायी भयो

सुबिनाको प्रसव पीडा र खुसी : सामान्य होला भनेको तर व्यथा सुरु भएको १५ घण्टा निकै पीडादायी भयो

अपट्रेण्डली मिडियामा प्रचार-प्रसार तथा कार्यान्वयनको जिम्मेवारी सम्हाल्छिन् सुबिना मानन्धर। इन्फ्ल्युएन्सर मार्केटिङ कम्पनी भएकाले उनले चर्चित व्यक्तित्वहरूसँग मिलेर विभिन्न ब्रान्डका लागि काम गर्नुपर्ने हुन्छ।

मार्केटिङ क्षेत्रमा लामो समयदेखि क्रियाशील सुबिनाले आमा बनेपछि भने आठ महिना कामबाट विश्राम लिइन्। त्यो समय उनले आफ्नो सन्तान हुर्कँदै गरेको क्षणहरूको अनुभव र सामीप्यमा बिताइन्। सन्तानलाई स्कुले जीवनमा प्रवेश गराएपछि भने उनी पुनः कार्यक्षेत्रमा फर्किएकी छिन्।

घर, काम र सन्तानका लागि समय व्यवस्थापन गर्न सहज नभए पनि उनी सबैलाई उत्तिकै प्राथमिकतामा राख्ने प्रयास गर्छिन्। पढ्दै काम गरेको अनुभव भएकाले उनलाई जिम्मेवारी सम्हाल्न खासै गाह्रो हुँदैन रे। उनै सुबिनाले 'उकेरा'को साप्ताहिक स्तम्भ प्रसव पीडा र खुसी मा आफ्नो मातृत्वको अनुभव यसरी सुनाइन् :

OOO

ठमेलमा जन्मिएकी म, विवाहपछि भने लाजिम्पाटमा बस्छु। हाम्रो पारिवारिक व्यवसाय छ। बुबाले डिपार्टमेन्ट स्टोर चलाउनुहुन्छ। म मार्केटिङ क्षेत्रमा लागेँ, भाइले पनि आफ्नै व्यवसाय गरिरहेको छ।

पढ्दापढ्दै सानै उमेरमा काम सुरु गरेकी थिएँ मैले। स्नातक तहको पढाइ सकिएपछि हाम्रो विवाह भयो। दुवै नेवार परिवारकै भए पनि सांस्कृतिक रूपमा केही भिन्नता रहेकाले सुरुमा घुलमिल हुन केही समय लाग्यो तर बिस्तारै बानी पर्दै गयो।

विवाहपछि समय व्यवस्थापन गर्न चुनौती हुने रहेछ। मैले पनि त्यसको अनुभव गरेँ। मैले स्नातकोत्तर पूरा गरेँ। यसमा श्रीमान्‌ले निकै हौसला र साथ पनि दिनुभयो। उमेर पनि परिपक्व भएको र पढाइ पनि सकिएपछि बल्ल हामीले सन्तानका बारेमा सोच्यौँ।

विवाह भएको चार वर्षपछि मात्र हामी आमा-बाबु बन्यौँ। यो बिचमा परिवार र आफन्तबाट सन्तानका लागि सोधखोज नभएको हैन, तर दबाब महसुस भने गर्नुपरेन। त्यसैले सबै कुरा सहज हुँदै गयो। अप्ठ्यारो भएन।

पहिलो पटक गर्भवती भएको खबर पाउँदा हामी सबै निकै खुसी र उत्साहित थियौँ। त्यसपछिको नौ महिनाको यात्रा भने केही उतारचढावपूर्ण रह्यो।

गर्भावस्थामा मन अलि बढी भावुक हुने र भावनात्मक साथको खाँचो महसुस हुने रहेछ। तर मैले यसको कमी महसुस गर्नु परेन। गर्भावस्थामा मैले श्रीमान् र परिवारबाट भरपुर साथ पाएँ। अफिसले पनि मेरो अवस्था बुझेर काममा लचकता अपनाइदियो। सबैको सहयोग पाउँदा गर्भावस्थाको यात्रा सहज भयो।

गर्भावस्थाको सुरुवाती तीन महिना बान्ता हुने, खान मन नलाग्ने र बढी थकाइ लाग्ने समस्या भयो। तर मलाई खानपानमा त्यति धेरै अप्ठ्यारो भने भएन। लोकल म:म:को झोल र 'करेन्ट चिजबल' खुब खान मन लाग्थ्यो। साथीहरू चाइनिज खाना खान जाँदा म भने म:म:मै रमाइरहेकी हुन्थेँ।

गर्भ बसेपछि शारीरिक रूपमा पनि धेरै परिवर्तन आउने रहेछ। त्यसबेला मेरो तौल १५ केजी बढेको थियो र पछि खुट्टाहरू सुन्निन थालेका थिए। यद्यपि, हिँडडुल गर्न भने गाह्रो भएन। गर्भावस्थामा जति सक्रिय भयो डेलिभरीमा त्यति सहज हुन्छ भनेर शारीरिक व्यायाम र घरका कामहरूमा सक्रिय रहने गर्थेँ। सायद त्यही सक्रियताले गर्दा होला, मेरो शल्यक्रिया (अपरेसन) गर्नुपरेन, 'नर्मल' रूपमै बाबु जन्मियो।

वाटर ब्रेक हुनु बच्चा जन्मने समयको संकेत रहेछ। डाक्टरले दिएको समयअनुसार नै लक्षणहरू देखा परे। टिचिङ अस्पताल नजिकै भएकाले 'वाटर ब्रेक' भएपछि त्यहीँ गयौँ। त्यहाँ पुग्दासम्म प्रसव व्यथा लागेको थिएन, त्यसैले व्यथा लाग्ने औषधि चढाइयो। औषधि चढाए पनि व्यथा लागेन। त्यसको १५ घण्टा समय निकै पीडादायी रह्यो।

सुरुमा प्रसव कक्षमा लैजाँदा त्यहाँ अरू महिलाहरूको पीडा देख्दा त ‘यति धेरै पीडा हुन्छ र!’ जस्तो लागेको थियो। मैले उनीहरूसँग कुरा पनि गरेँ, उनीहरूले निकै दुख्छ भनिरहेका थिए। मलाई भने त्यतिबेलासम्म पनि बच्चा जन्माउँदा महिनावारीको दुखाइ (पिरियड क्र्याम्प्स) जस्तै होला भन्ने लागेको थियो।

तर, व्यथा बढ्दै जाँदा सहन नसक्ने भयो। मैले त ‘अपरेसन नै गरिदिनुस्’ समेत भनेकी थिएँ। पछि श्रीमान्‌ले अपरेसन गर्नुभन्दा अहिलेको पीडा सहनु नै राम्रो हुन्छ भनेर सम्झाउनुभयो। उहाँ आफैँ मेडिकल क्षेत्रको भएकाले मलाई एक प्रकारको ढुक्क महसुस पनि भयो।

१५ घण्टाको संघर्षपछि बल्ल बाबु जन्मियो। सात-आठ महिनाको गर्भमा छँदै भिडियो एक्सरेमा उसको अनुहार देखिसकेकी थिएँ। जन्मनेबित्तिकै डाक्टरले देखाउँदा मैले त्यही अनुहार सम्झिएँ, जुन दुरुस्तै थियो।

सुरुमा उ ठ्याक्कै बुबा जस्तो देखिएको थियो। बिस्तारै म जस्तो पनि देखिन थाल्यो। अहिले कहिले बुबा जस्तो त कहिले म जस्तो देखिन्छ।

प्रसव कक्षमा जब बाबुलाई देखेँ त्यसपछि मेरो सबै पीडा हराएर गयो। त्यसपछि भने लामो समय हाम्रो निद्रा हरायो।

हामी नेवार समुदायमा अझै पनि बच्चालाई 'डाइपर' लगाइदिन हुन्न, यसले खुट्टा बाँङ्गो बनाउँछ भन्ने मान्यता छ। त्यसैले हामीले पनि डाइपर प्रयोग गरेनौँ। यसले गर्दा छिनछिनमा उठ्नुपर्ने, बाबुलाई सफा गरिदिनुपर्ने हुन्थ्यो। स्तनपान गराउँदा पनि निकै समय लाग्थ्यो।

दूध पर्याप्त नआएकाले तीन महिनापछि मैले स्तनपान गराउन सकिनँ। हजुरआमाले चाकु-भात, कुखुराको मासुको सुप लगायतका पोसिला खानेकुरा खुवाएर निकै स्याहार गर्नुभयो। तर पनि दूध नआएपछि बाध्य भएर बट्टाको दूध सुरु गर्नुपर्यो।

न्वारन सकिनेबित्तिकै म माइत गएँ। त्यहाँ सुत्केरी स्याहार निकै राम्रो भयो। मेरो छोराले तीन पुस्ताकै माया र स्याहार पायो, जुन अहिले पनि जारी छ। पछि हामीले 'बेबी सिटर' पनि राख्यौँ, जो अहिलेसम्म हुनुहुन्छ।

तीन महिनाको प्रसूति बिदापछि काममा फर्किएँ। अफिसमा समय लचिलो भए पनि बाबुलाई पर्याप्त समय दिन नसकेको जस्तो लाग्न थाल्यो। त्यसैले बाबु एक वर्षको भएपछि म आफैँ आठ महिनाको 'ग्याप'मा बसेँ।

त्यसबेला उसले हिँड्न र बोल्न खोजेका हरेक पलहरूलाई प्रत्यक्ष अनुभव गर्न पाएँ। अरूको मुखबाट सुन्नु र आफैँले देख्नुमा ठूलो फरक हुँदो रहेछ। बाबु स्कुल जान थालेपछि मात्र म पुनः काममा फर्किएकी हुँ।

अहिले बिदाको समय हामी प्रायः बाबुसँगै बिताउँछौँ। राति अँध्यारो हुन थालेपछि ‘मम्मी-ड्याडी आउने बेला भयो’ भन्ने उसलाई थाहा हुने रहेछ। उसले हामीलाई पर्खिरहेको देख्दा मन चस्स हुन्छ। ऊ सानै भए पनि निकै बुझ्ने छ।

ऊ हाम्रो सन्तान मात्र नभई साथी जस्तो लाग्छ। बोल्न थालेदेखि उसले आफ्ना कुरा सुनाउने र हामीले पनि उनीसँग गफिँदै समय बिताउने गरेका छौँ। बाबु बल्ल तीन वर्षको हुन लाग्यो, तर उसको व्यवहार, तौल, उचाइ र बोली परिपक्व जस्तो लाग्छ।

आमा हुनु मेरा लागि एउटा आशीर्वाद हो। माया, खुसी, जिम्मेवारी र शक्तिको मिश्रित अनुभव हो यो। आमा बनेपछि म पहिलेभन्दा बढी धैर्यवान्, शान्त, बलियो र जिम्मेवार भएको महसुस गर्छु। अझै लामो यात्रा बाँकी छ, तर अहिलेसम्मको अनुभव निकै मिठासपूर्ण छ।

हामीले जे जति गरिरहेका छौँ, त्यो बाबुकै लागि हो। त्यहीअनुसार लगानी र बचतको योजना पनि बनाउनुपर्नेछ। हाम्रो मुख्य प्राथमिकता उसलाई राम्रो शिक्षा दिनु हो। बाँकी कुराहरू समयसँगै अनुभव गर्दै गइहालिन्छ।

पुष ६, २०८२ आइतबार १६:२७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।