मधेस प्रदेशले आइतबार नयाँ सभामुख पाउने
काठमाडौं : मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि आइतबार निर्वाचन हुँदैछ। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख चयनका लागि मतदान हुने कार्यतालिका रहेको छ।
सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सत्तारुढ सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले) का तर्फबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मतरूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो। सत्ता राजनीतिको पछिल्लो फेरबदल र बदलिँदो समीकरणका कारण मधेस प्रदेश सभाको ठूलो दल एमाले शक्ति अभ्यासका क्रममा एक्लिन पुगेको छ।
प्रदेश सभा सचिवालयले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। सोही प्रक्रियामार्फत मधेस प्रदेशले आइतबार नयाँ सभामुख प्राप्त गर्नेछ।
पुष ६, २०८२ आइतबार ०९:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।