मदन भण्डारीले राजालाई थर्काएकै शैलीमा एमालेलाई रविले भने “ संसद् पुनर्स्थापना गर्न आँखा नचम्काउनु”
काठमाडौं : २०४७ चैत ५ मा काठमाडौँको चाबहिलमा आयोजित चुनावी सभामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले राजसंस्थाबारे प्रयोग गरेको एक वाक्य अहिलेसम्म पनि चर्चित छ। उनले राजाको अनुकम्पाले प्रजातन्त्र नआएको भन्दै षड्यन्त्र नगर्न चेतावनी दिँदै भने “राजासँग सम्झौता गर्नु बाध्यता हो। राजा मान सम्मान लिएर बसुन्। सुन्डमुसुन्ड नचलाइबक्स्योस्। हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस्। चलाइबक्सने हो भने श्रीपेच खोलेर आफैँ चुनावी मैदानमा आइबक्सियोस्।”
उनले प्रजातन्त्र विरुद्ध षड्यन्त्र नगर्न चेतावनीदिँदै तत्कालीन राजालाई मान सम्मान उपभोग गर्दै किनारामा बस्न चेतावनी दिएका थिए।
सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षमा रहेर शुक्रवार बिगो राखेर छुटेका रवि लामिछानेले जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा लागेका दलहरूलाई उही मदन भण्डारीको शैलीमा चेतावनी दिए।
उनले संसद् पुनर्स्थापनाको विपक्षमा आफ्नो भनाई राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाएर निर्वाचनको तयारीमा लाग्न आग्रह गर्दै संसद् पुनर्स्थापनाको मागमा सक्रिय दलहरूलाई मदन भण्डारीको शैलीमा चेतावनीदिँदै भने “ जनताको विद्रोहलाई कतै कुनामा बसेर जिस्काउने आँट नगर। जनताको विद्रोह चुनौती दिन कतै संसद् पुनर्स्थापना गर्ने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होसियार, शहीदको रगत सुकेको छैन। शहीदको आमाको आशु सुकेको छैन।
धेरै आँखा नचम्काउनुहोला।”
उनले प्रधानमन्त्रीलाई भने “अनुहार उज्यालो पार्नुस् प्रधानमन्त्रीज्यू, निर्वाचनको डन्डा चलाउनुस् रास्वपा तपाईँको साथमा छ।”
उनले जेनजी आन्दोलनका शहीदका परिवारलाई सम्बोधन गर्दै भने “ए शहीदका आमाहरू तपाईँहरूको कोख रित्तिएका होलान्, सिङ्गो चितवनको छोराछोरी तपाइको साथमा छन्।”
जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेर फागुन २१ मा निर्वाचन गर्ने जिम्मेवारी दिएका थिए। त्यसयता एमालेले निरन्तर संसद पूनर्स्थापनाको माग अगाडि सार्दै सर्वोच्चसम्म रिट बोकेर पुगेको छ।
नेपाली कांग्रेसले आधिकारीक रुपमा संसद पुनर्स्थापनाको माग अगाडि सारेको छैन। संसदबारे सर्वोच्च अदालतले जे भन्छ त्यही स्विकार गर्ने भन्दै उसले निर्वाचनलाई अगाडि सारेको छ।
पुष ५, २०८२ शनिबार १७:५८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।