जेफ्री एस्टिन काण्ड : ३ लाख गोप्य दस्तावेज र तस्बिरहरू सार्वजनिक, क्लिन्टन र राजकुमार एन्ड्रयूको फोटो पनि बाहिरियो
एजेन्सी : अमेरिकी अर्बपति तथा यौन अपराधी जेफ्री एस्टिनको अनुसन्धानसँग सम्बन्धित ३ लाख भन्दा बढी गोप्य दस्तावेज र तस्बिरहरू अमेरिकी जस्टिस डिपार्टमेन्टले शुक्रबार राति सार्वजनिक गरेको छ।
भारतीय समयअनुसार शुक्रबार राति साढे २ बजे सार्वजनिक गरिएका यी फाइलहरूमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन, पप स्टार माइकल ज्याक्सन, हलिउड अभिनेता क्रिस टकर र बेलायती राजकुमार एन्ड्रयू जस्ता दिग्गजहरूको तस्बिर समावेश छ।
सार्वजनिक गरिएका कुल ३,५०० भन्दा बढी फाइलहरू (करिब २.५ जीबी डाटा) ४ वटा सेटमा र पछि थप १ सेट गरी सार्वजनिक गरिएको हो। यी दस्तावेजहरूमा एस्टिनको हाई-प्रोफाइल नेटवर्क र उनीहरूको गतिविधि झल्काउने तस्बिरहरू बाहिर आएका छन्।
क्लिन्टन र राजकुमार एन्ड्रयूका विवादास्पद तस्बिरहरू
सार्वजनिक भएका तस्बिरहरूले विश्वभर तरङ्ग पैदा गरेको छ। दस्तावेजमा समावेश तस्बिरहरूमा निम्न दृश्यहरू देखिएका छन्:
बिल क्लिन्टन: पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन स्विमिङ पुलमा दुई युवतीहरूसँग नुहाउँदै गरेको र ‘हट टब’मा एक महिलासँग देखिएका छन्। तस्बिरमा महिलाको अनुहार भने छोपिएको छ। साथै, उनी शान्टे डेविस (जसले पछि एस्टिनविरुद्ध गवाही दिएकी थिइन्) सँग पनि देखिएका छन्।
राजकुमार एन्ड्रयू: बेलायती राजकुमार एन्ड्रयू ७ जना महिलाहरूसँग देखिएका छन्। सार्वजनिक तस्बिरमा ५ जना महिलाहरू उनको काखमा लतरिएका (लेटेका) देखिन्छन्। उक्त तस्बिरमा एस्टिनकी सहयोगी घिसलेन म्याक्सवेल पनि देखिएकी छिन्।
माइकल ज्याक्सन र ओप्रा: पप स्टार माइकल ज्याक्सन, पूर्व राष्ट्रपति बिल क्लिन्टन र चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रे एकै साथ देखिएका छन्। अर्को एक तस्बिरमा ज्याक्सन एस्टिनसँग देखिएका छन्।
अन्य हलिउड हस्ती: हलिउड अभिनेता केविन स्पेसी, क्रिस टकर र अर्बपति रिचर्ड ब्रान्सन पनि एस्टिनसँगको तस्बिरमा देखिएका छन्। एस्टिन र उनकी प्रेमिका घिसलेन म्याक्सवेल प्राइभेट जेटमा सँगै रहेको तस्बिर पनि सार्वजनिक भएको छ।
ट्रम्पको आदेश र कानुनी प्रक्रिया
यी दस्तावेजहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशबमोजिम सार्वजनिक गरिएको बताइएको छ।
ट्रम्पले गत नोभेम्बर १८ मा एस्टिनसँग सम्बन्धित सबै दस्तावेज ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए। डिसेम्बर १९ मा ३० दिनको समयसीमा सकिएपछि अहिले यी फाइलहरू बाहिर आएका हुन्।
यद्यपि, जस्टिस डिपार्टमेन्टले अझै केही दस्तावेजहरू रोकेको जनाएको छ। राष्ट्रिय सुरक्षा र चलिरहेको अन्य अनुसन्धानमा असर पर्न सक्ने कारण देखाउँदै ती फाइलहरू तत्काल सार्वजनिक नगरिएको बताइएको छ।
को हुन् जेफ्री एस्टिन?
जेफ्री एस्टिन एक अमेरिकी फाइनान्सर थिए, जसले दशकौंसम्म कम उमेरका किशोरीहरूलाई आफ्नो यौन शोषणको जालोमा फसाएका थिए।
उनलाई यौन बेचबिखनको अभियोगमा पक्राउ गरिएको थियो, र सन् २०१९ मा म्यानहटनको जेलमा उनले आत्महत्या गरेका थिए।
अहिले सार्वजनिक भएका तस्बिर र दस्तावेजहरूले एस्टिनको शक्तिशाली व्यक्तिहरूसँगको घनिष्ट सम्बन्ध र उनीहरूको गोप्य जमघटहरूलाई सतहमा ल्याइदिएको छ।
तर, तस्बिरमा देखिएका स्थानहरू र सन्दर्भहरू कतिपयमा अझै स्पष्ट भइसकेका छैनन्।
पुष ५, २०८२ शनिबार ०८:०९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।