मेडिकल काउन्सिल निर्वाचन अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालसहित देशभर मतदान सुरू

मेडिकल काउन्सिल निर्वाचन अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पतालसहित देशभर मतदान सुरू

बुटवल : नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष तथा सदस्य पदका लागि काठमाडौं उपत्यकाबाहिरका विभिन्न केन्द्रहरूमा आजदेखि मतदान सुरू भएको छ।

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि आज बिहानैदेखि मतदान जारी छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालका अनुसार यस केन्द्रमा करिब ३ सय जना चिकित्सक मतदानमा सहभागी हुँदैछन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा आज र भोलि दुवै दिन मतदानको व्यवस्था मिलाइएको छ।

निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा शुक्रबार र शनिबारका लागि तालिका निर्धारण गरिएको छ। केही स्थानमा शुक्रबार मात्र, केहीमा शनिबार मात्र र केही मुख्य केन्द्रहरूमा दुवै दिन मतदान हुनेछ।

आज मात्र मतदान भएका स्थानहरू :
रुपन्देहीको भीम अस्पताल (भैरहवा), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ), मेची प्रादेशिक अस्पताल (झापा), गजेन्द्र नारायण सिंह अस्पताल (सप्तरी), लहान जिल्ला अस्पताल (सिराहा), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा), सुर्खेत प्रादेशिक अस्पताल (सुर्खेत) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)।

भोलि मात्र मतदान हुने स्थानहरू :
जिल्ला अस्पताल (पाल्पा), भेरी अस्पताल (नेपालगञ्ज) र सेती प्रादेशिक अस्पताल (धनगढी) ।

आज र भोलि दुवै दिन मतदान हुने स्थानहरू :
लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल), कोशी अस्पताल (विराटनगर), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), जनकपुर प्रादेशिक अस्पताल (जनकपुरधाम), नारायणी अस्पताल (वीरगञ्ज), भरतपुर अस्पताल (चितवन) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)।

काठमाडौं उपत्यका र काभ्रेमा भने अर्को साता मतदान हुनेछ।

धुलिखेल अस्पतालमा पुस ११ गते शुक्रबार तथा काठमाडौं उपत्यकाका हकमा राष्ट्रिय सभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (जावलाखेल)मा पुस ११ र १२ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ।

पुष ४, २०८२ शुक्रबार १३:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।