बुधबारदेखि हराइरहेका १७ वर्षीय युवकको बीभत्स हत्या, नालीमा भेटियो शव

बुधबारदेखि हराइरहेका १७ वर्षीय युवकको बीभत्स हत्या, नालीमा भेटियो शव

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा १७ वर्षीय किशोरको बीभत्स हत्या भएको छ।

गाउँपालिकाको वडा नम्बर ३, धौलागिरी चोकका १७ वर्षीय इशान शर्मा पौडेलको टाउकोमा गह्रौं वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालिएको अवस्थामा बिहीबार साँझ शव फेला परेको हो।

बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन रहेका पौडेलको शव बिहीबार साँझ करिब ६ बजे स्थानीय नालीमा भेटिएको हो। नालीमा शव देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रुद्रपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार किशोरको हत्या योजनाबद्ध रूपमा गरिएको देखिन्छ। हत्यापछि प्रमाण लुकाउने उद्देश्यले शव नालीमा फालिएको हुन सक्ने प्रहरीको निष्कर्ष छ।

इलाका प्रहरी कार्यालय रुद्रपुरका अनुसार घटनालाई गम्भीर रूपमा लिइएको छ। घटनास्थल वरपरको क्षेत्रलाई घेराबन्दी गरी सूक्ष्म अनुसन्धान अघि बढाइएको छ भने स्थानीयसँग सोधपुछ भइरहेको छ।

घटनापछि स्थानीयवासीले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। इलाका प्रहरी कार्यालय रुद्रपुर थकालीचोकले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको र दोषी नउम्किने जनाएको छ।

पुष ४, २०८२ शुक्रबार ०९:५३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।