विदेश पठाइदिने प्रलोभनमा ४९ लाख ठगी, तीन जना पक्राउ

विदेश पठाइदिने प्रलोभनमा ४९ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका, क्यानडा तथा अल्बानिया पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ बस्ने ५४ वर्यीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइज सुवेदी रहेका छन्।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई विश्वासमा पारी रकम लिएर सम्पर्कविहीन भएका थिए।

उनीहरूमाथि परेको उजुरीका आधारमा पवित्रप्रकाशले अल्बानिया पठाउने भन्दै १९ लाख रुपैयाँ, बबिताले क्यानडा पठाइदिने भन्दै १९ लाख रुपैयाँ र साइजले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेका थिए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पुष ४, २०८२ शुक्रबार ०७:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।