खरिद विवादका बदनामीलाई ट्रमा सेन्टरको जिम्मा दिएर चिकित्सकको चुनावतिर लागे डा. रिजाल
काठमाडौं : स्वास्थ्य सेवा विभागदेखि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख हुँदा निरन्तर स्वास्थ्य उपकरण खरिद बदमासीमा जोडिँदै आएका डा रुद्र मरासिनीलाई निमित्त प्रमुख बनाएर डा. बद्री रिजाल नेपाल चिकित्सक संघको अध्यक्षको उम्मेदवार बन्न हिँडे।
ट्रमा सेन्टरको निर्देशकबाट राजीनामा दिएर उनले सोही अस्पतालमा कार्यरत मरासिनीलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्। उनी नेपाल चिकित्सक संघको अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्। रिजाल ट्रमाको निर्देशक बन्दा मरासिनी समेत प्रतिस्पर्धामा थिए। तर उनको विवादित कार्यशैलीका कारण तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रिजाललाई निर्देशक बनाएका थिए।
अध्यक्षमा बिहीबार उम्मेदवारी दिए लगत्तै उनले ट्रमा सेन्टरको निर्देशकबाट राजीनामा दिएर लिखित रूपमा मरासिनीलाई जिम्मेवारी तोकेर हिँडेका हुन्। रिजाल संघको अध्यक्षको प्रतिस्पर्धामा जाँदा निर्देशक छाड्ने पक्कापक्की रहेकाले मरासिनी निर्देशक बन्न सक्रिय थिए। स्वास्थ्य उपकरण खरिदका केही एजेन्टहरूले निर्देशकको रूपमा उनको नाम स्वास्थ्यमन्त्री र स्वास्थ्यसचिवकोमा पुर्याइसकेका स्रोतले जानकारी दियो।
डा. मरासिनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा होस् वा ट्रमा सेन्टरको एमआरआई खरिद र मोडुलर ओटी खरिद विवादमा जोडिएका पात्र हुन्। डा. मरासिनी ट्रमा सेन्टरको निर्देशक हुँदा करिब ३० करोडमा ‘थ्री टेस्ला एमआरआई मेसिन’ किन्न २०७९ कात्तिक २८ (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरे पनि अनियमितता पुष्टि हुने आधार देखिएपछि खरिद प्रक्रिया नै रद्द भएको थियो।
खरिद नियमलाई मिचेर ‘म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि, काठमाडौँ’सँग नौ करोड ७८ लाख १८ हजारमा पाँच वटा मोडुलर अप्रेटिङ थिएटर (ओटी) किन्न भने उनी सफल भएका थिए। यी लगायत डा. मरासिनीले गरेका खरिद अनियमितताका विषयमा उकेराले सप्रमाण फेहरिस्त नै लेखेको थियो।
स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा बदनाम मरासिनीलाई जिम्मेवारी दिएर हिँडेकोबारे रिजालसँग जिज्ञासा राख्दा उनले सिनियारिटीको आधारमा जिम्मेवारी दिएको तर्क गरे।
‘सिनियर मष्टबाट रुद्र डाक्टरसापलाई निमित्त दिएको छु’,डा. रिजालले भने।
रिजालले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर राजीनामा बुझाएको र शुक्रवारदेखि बिदा लिएकाले मरासिनीलाई जिम्मेवारी तोकेको बताए।
११औँ तहका चिकित्सक भएकाले उनको राजीनामा स्वास्थ्य मन्त्रीले नै स्वीकृत गर्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्री डा. सुधा शर्मा भारतमा विश्व स्वास्थ्य संगठनको कार्यक्रममा गएकी छन्। उनी फर्किएपछि मात्रै डा. रिजालको राजीनामा स्वीकृत हुनेछ।
पुष ३, २०८२ बिहीबार २२:२६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।