एमाले महाधिवेशनमा विष्णु रिमालकै पद असुरक्षित, भीम आचार्य र लालबाबुको बिचल्ली
काठमाडौं : एमालेको जारी मतगणनामा केपी शर्मा ओली पक्षले प्रभुत्व कायम गरिरहँदा अध्यक्ष ओलीका अति निकट मानिने नेता विष्णु रिमाल भने उपमहासचिव पदमा ‘असुरक्षित’ देखिएका छन्।
अर्कोतर्फ, कुनै पनि प्यानलमा नपरेका ‘हेविवेट’ नेताहरू भीम आचार्य र लालबाबु पण्डितको अवस्था नाजुक बनेको छ।
एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ। यस पदका लागि ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
तर, साबिकको उपमहासचिव पदमै उम्मेदवारी दिएका र ओलीका विश्वासपात्र मानिने विष्णु रिमाल अहिलेसम्मको मतगणनामा ‘टप थ्री’ भित्र अटाउन सकेका छैनन्।
पछिल्लो अपडेट अनुसार उपमहासचिवमा माओवादी पृष्ठभूमिबाट आएका लेखराज भट्टले सर्वाधिक मतसहित अग्रता लिएका छन्।
सुरुमा सचिवमा उठाइने चर्चा भए पनि अन्तिम समयमा उपमहासचिवको टिकट पाएका भट्ट संस्थापन पक्षको रोजाइमा परेका थिए।
भट्टपछि रघुवीर महासेठ दोस्रो र ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो स्थानमा छन्। रघुवीर (२६७ मत) र योगेश (२६४ मत) बीच जम्मा ३ मतको अन्तर छ।
संस्थापन पक्षकै उम्मेदवार भएर पनि विष्णु रिमाल २२० मतका साथ चौथो स्थानमा खुम्चिएका छन्।
मतगणना जारी रहेकाले उनी अगाडि आउन सक्ने सम्भावना कायमै रहे पनि हालको अवस्थाले उनी जोखिमपूर्ण स्थितिमा रहेको देखाउँछ। यदि उनी पराजित भएमा अध्यक्ष ओलीलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ।
यसैगरी, उपमहासचिवको दौडमा आनन्द प्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्र गौतम (उम्मेदवारी निष्क्रिय बनाएका) निकै पछाडि परेका छन्।
भीम आचार्य र लालबाबु पण्डितको बिचल्ली
प्यानलगत प्रतिस्पर्धाको प्रत्यक्ष मारमा संस्थापन पक्षकै प्रभावशाली मानिने तर कुनै पनि प्यानलमा नअटाएका नेताहरू परेका छन्।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम आचार्य र सचिवका उम्मेदवारी दिएका लालबाबु पण्डित अनि पेम्बा लामाले उल्लेख्य मत पाउन सकेका छैनन्।
ओलीले आफ्नो प्यानलमा केन्द्रीय सदस्यमा मात्र सीमित राखेपछि असन्तुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवारी दिएका भीम आचार्य ११ जना उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याएर पुछारमा छन्।
एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्थामा हालसम्म पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त अगाडि देखिएका छन्।
त्यस्तै, चर्चित नेता लालबाबु पण्डित पनि सचिव पदको दौडमा निकै पछाडि परेका छन्।
९ जना सचिवका लागि २० जनाबीच प्रतिस्पर्धा भइरहेकोमा पण्डित ‘टप ९’ भित्र पनि पर्न सकेनन्। ओली प्यानलमा रहेका उनीभन्दा 'जुनियर' नेताहरूले उनलाई पछि पारेका छन्।
सचिवमै स्वतन्त्र उम्मेदवारी दिएकी पेम्बा लामाको अवस्था झन् नाजुक छ, उनी मतपरिणामको पुछारबाट दोस्रो स्थानमा रहेकी छन्।
पुष ३, २०८२ बिहीबार १२:२०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।