एमाले महाधिवेशन : अध्यक्षमा ओली २२३ मतले अघि, महासचिवमा शंकर पनि मतान्तर बढाए
काठमाडौं : एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
२ हजार २ सय २७ मत खसेकोमा सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो अग्रता कायमै राखेका छन्।
प्राप्त मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्। उनीहरूबीच २२३ मतको मतान्तर छ।
महासचिव पदमा शंकर पोखरेलले अग्रता बढाएका छन्। महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ मत पाउँदा सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत ल्याएर पछ्याइरहेका छन्। उनीहरूबीच ५५ मतको अन्तर छ।
उपाध्यक्ष पदको गणनामा पृथ्वी सुब्बा गुरुङले अग्रता लिएका छन्। उनले ३५६ मत पाउँदा विष्णु प्रसाद पौडेल ३४९ मतका साथ दोस्रो स्थानमा छन्। त्यस्तै रामबहादुर थापा ‘बादल’ले ३०९ मत पाएका छन्।
उपाध्यक्षका अन्य उम्मेदवारहरूमध्ये गोकर्ण राज विष्टले २५६, रघुजी पन्तले २५३, गुरु प्रसाद बरालले २४२, विन्दा पाण्डेले १६९, अरुण नेपालले ८९, पर्शुराम मेघी गुरुङले ८६, टंक प्रसाद कार्कीले ७५ र भिम प्रसाद आचार्यले ५१ मत ल्याएका छन्।
उपमहासचिव पदमा लेखराज भट्टले २९३ मतसहित अग्रता बनाएका छन्। रघुवीर महासेठले २६७ र योगेश भट्टराईले २६४ मत ल्याएका छन्। त्यसैगरी विष्णु रिमालले २२० मत पाउँदा, आनन्द पोख्रेल १३३, वैजनाथ चौधरी ५७ र राजेन्द्र गौतमले ५५ मत पाएका छन्।
सचिव पदमा छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११ मत सहित अग्रता लिएका छन्। पद्मा कुमारी अर्यालले ३०५ र शेरधन राईले ३०० मत पाएका छन्। यसका अलावा सचिव पदमै खगराज अधिकारी २७९, हिक्मत कुमार कार्की २७४, यमलाल कडेल २६९, राजन भट्टराई २३६, भानुभक्त ढकालले २२५ मत पाएका छन्।
त्यसैगरी गोकुल बास्कोटा १९२, ठाकुर गैरे १७५, रचना खड्का १६९, कर्णबहादुर थापा १६६, अग्नि खरेल १४९, विनोद ढकाल १४८, कृष्ण गोपाल श्रेष्ठ ११४, पुरुषोत्तम पौडेल ८६, पेम्बा लामा ८५, इन्द्रलाल सापकोटा ७४ र लाल बाबु पण्डितले ७३ मत पाएका छन्।
मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय २७ मत खसेको छ, त्यसैले अन्तिम नतिजा आउन बाँकी नै छ।
पुष ३, २०८२ बिहीबार ११:१६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।