‘जेन-जी’ आन्दोलनमा कोटेश्वर ट्राफिक बिटमा पेट्रोल बम प्रहार गर्ने दुई जनाविरुद्ध मुद्दा, १ करोड ३८ लाख क्षतिपूर्ति माग

‘जेन-जी’ आन्दोलनमा कोटेश्वर ट्राफिक बिटमा पेट्रोल बम प्रहार गर्ने दुई जनाविरुद्ध मुद्दा, १ करोड ३८ लाख क्षतिपूर्ति माग

काठमाडौं : काठमाडौंको कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभागमा जेन-जी आन्दोलनको नाममा पेट्रोल बम प्रहार गरी आगजनी र लुटपाट गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धानको आधारमा निमा दोर्जे (प्रभास तामाङ) र समिर थपलिया विरुद्ध ‘आपराधिक उपद्रव’ कसुरमा मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा आगजनीबाट भएको क्षतिको भरपाई स्वरूप प्रतिवादीहरूबाट १ करोड ३८ लाख ५९ हजार ४ सय रुपैयाँ असुल उपर गर्न माग गरिएको छ।

अभियोग पत्रका अनुसार, २०८२ भदौ २४ गते जेन-जी समूहले आह्वान गरेको विरोध प्रदर्शन उग्र बन्दै जाँदा कोटेश्वर क्षेत्रमा रहेका प्रदर्शनकारीहरूले ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा आक्रमण गरेका थिए।

सिन्धुपाल्चोक हेलम्बु घर भई काठमाडौं जडिबुटी बस्ने २० वर्षीय दोर्जेले आन्दोलनको क्रममा प्रहरी कार्यालयको कम्पाउन्डभित्र पार्किङमा रहेका मोटरसाइकल र भवन लक्षित गरी पेट्रोल बम प्रहार गरेका थिए।

सीसीटीभी फुटेजमा सेतो टिसर्ट, सेतो पाइन्ट र लामो कपाल भएका व्यक्तिले बोतलमा आगो सल्काएर फालेको देखिएको र सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले बयानमा आफूले पेट्रोल बम हानेको स्वीकार गरेका छन्।

काभ्रेपलाञ्चोक पाँचखाल घर भई ललितपुर इमाडोल बस्ने २३ वर्षीय थपलियाले आगजनी भइरहेको अवस्थामा प्रहरी कार्यालयभित्र प्रवेश गरी त्यहाँ रहेको ‘मन्त्र’ ब्रान्डको गितार लुटपाट गरेका थिए। प्रहरीले उनको साथबाट उक्त लुटिएको गितार समेत बरामद गरेको छ।

आन्दोलनकारीको आक्रमणबाट कोटेश्वर ट्राफिक प्रभागको भवन, फर्निचर, कम्प्युटर, सञ्चार उपकरण, प्रहरीका पोसाक, र पार्किङमा राखिएका सवारी साधनहरू जलेर नष्ट भएका थिए।

अभियोग पत्रमा रामकृष्ण थापाको जलेको मोटरसाइकलको २ लाख ६१ हजार ९ सय र ट्राफिक कार्यालयको भवन तथा जिन्सी सामानको १ करोड ३५ लाख ९७ हजार ५ सय गरी कुल १ करोड ३८ लाख ५९ हजार ४ सय रुपैयाँ बिगो दाबी गरिएको छ। उक्त रकम प्रतिवादीहरूबाट दामासाहीले भराउन माग गरिएको छ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा चलाएको छ।

चार्जबसिटमा दफा २८५ को उपदफा (३) (ख) बमोजिम पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद र बिगो बमोजिम जरिवानाको माग गरिएको छ। सरकारी कार्यालयमा आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेको हुनाले हदैसम्मको सजाय माग गरिएको हो।

यो घटनामा संलग्न महेन्द्र मैनाली लगायतको हकमा भने अनुसन्धान जारी रहेको र पहिचान खुलेपछि पुरक अभियोग लगिने जनाइएको छ।

पुष ३, २०८२ बिहीबार १०:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।