२२ घण्टापछि सकियो एमाले महाधिवेशनको मतदान, ३६ जना अनुपस्थित

२२ घण्टापछि सकियो एमाले महाधिवेशनको मतदान, ३६ जना अनुपस्थित

काठमाडौं : एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान करिब २२ घण्टा लम्बिएर बिहीबार बिहान पौने ७ बजे सकिएको हो।

महाधिवेशनमा नेतृत्व चयनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको थियो।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदानमा ९८.०४ प्रतिशत प्रतिनिधिले सहभागिता जनाएका छन्।

कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकोमा २ हजार २ सय २७ मत मात्र खसेको छ। मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि अनुपस्थित भएको उपाध्यक्ष पोखरेलले जानकारी दिए।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

दुवै नेताले आ-आफ्नो समूहसहित प्रतिस्पर्धा गर्दा प्यानलमा नपरेका नेताहरूले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।

यसअघि महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो।

मतदान प्रक्रिया सकिएसँगै एमाले केन्द्रीय निर्वाचन आयोगले मतगणनाको तयारी थालेको छ । आयोगका अनुसार आजै (बिहीबार) मतपरिणाम सार्वजनिक गरिनेछ।

बिहान ११ बजे भृकुटीमण्डपमै मतपरिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र नवनिर्वाचित कमिटीको शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

आयोगले बिहीबार दिउँसो १२ बजेभित्र सबै प्रक्रिया टुंग्याउने तयारी गरेको जनाएको छ।

पुष ३, २०८२ बिहीबार ०७:१५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।