एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान, ओली र पोखरेलबिच मुख्य प्रतिस्पर्धा

एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान, ओली र पोखरेलबिच मुख्य प्रतिस्पर्धा

काठमाडौं : एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि र प्राविधिक तयारी नपुगेपछि निर्वाचन प्रक्रिया आजका लागि सारिएको हो।

नयाँ नेतृत्वका लागि प्रतिनिधिहरूले भृकुटीमण्डपमा मतदान गर्नेछन्।

यद्यपि, महाधिवेशन भइरहेको हल खाली गर्नुपर्ने भएकाले भृकुटीमण्डपभित्रै मतदानस्थल भने परिवर्तन गरिएको छ। निर्वाचनमा कुल २ हजार २६३ जना प्रतिनिधिहरूले मतदानमा भाग लिनेछन्।

एमालेले मतदानका लागि रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दैछ। मतदानका लागि ८० वटा मेसिनहरू तयारी अवस्थामा राखिएको छ।

प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार उपकरणमा डाटा इन्ट्री सकेर तयारी हालतमा राखिएको छ। विद्युतीय मतदान भएकाले मतदान सकिएको करिब २ घण्टाभित्रै परिणाम सार्वजनिक हुने जनाइएको छ।

एकजना मतदातालाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ।

महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ, जसका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्यानलसहितको प्रतिस्पर्धा हुने भएको छ। केही केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ सचिवसहित केन्द्रीय सदस्यहरू चयन हुनेछन्। मुख्य पदहरूमा उम्मेदवारी यस प्रकार छ।

उपाध्यक्ष (५ सिट): अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल।

महासचिव (१ सिट): शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे।

उपमहासचिव (३ सिट): आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी।

सचिव (९ सिट): अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

पुष २, २०८२ बुधबार ०७:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।