पुराना स्टारको नयाँ रूप, फेरिएको भूमिका
काठमाडौं : कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री हुन्, बिपना थापा। मोहन निरौलाको चलचित्र 'जन्मभूमि' बाट अभिनय यात्रा सुरु गरेकी बिपनाले त्यसपछि 'अप्सरा', 'नाता रगतको', 'तँ त साह्रै नै बिग्रिस नि बद्री', 'मितिनी' लगायत दर्जनौं सफल चलचित्रमा अभिनय गरिन्। आफ्नो सशक्त अभिनयका कारण उनी दर्शक र निर्माता-निर्देशकको पहिलो रोजाइमा पर्थिन्।
करिब १६ वर्ष चलचित्र क्षेत्रबाट टाढा रहेकी बिपना पुनः अभिनयमा फर्किएकी छन्। पारिवारिक व्यस्तताका कारण लामो समय पर्दामा नदेखिएकी उनले गत वर्ष प्रदर्शन भएको चलचित्र 'ह्रस्व दीर्घ'मार्फत कमब्याक गरेकी हुन्। यस वर्ष उनी 'आ बाट आमा' चलचित्रमा पनि देखिँदै छिन्।
समयको परिवर्तनसँगै मुख्य अभिनेत्रीको सट्टा उनी अहिले चरित्र अभिनेत्री (आमा) को भूमिकामा देखिएकी छन्। सोमबार ‘आ बाट आमा’ फिल्मको गीत रिलिज कार्यक्रममा उनले चलचित्र क्षेत्रमा फर्कन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन्। आगामी माघ १६ गते रिलिज हुने उनको नयाँ चलचित्रलाई दर्शकले कत्तिको रुचाउनेछन्, त्यो भने हेर्न बाँकी छ।
यसैगरी, लामो समय अमेरिका बसाइपछि अभिनेत्री पूजा चन्द पनि नेपाली चलचित्रमा फर्किएकी छन्। गत वर्ष प्रदर्शनमा आएको चलचित्र 'तेल भिसा'मा उनी आमाको भूमिकामा देखिएकी थिइन्। व्यवसायीक रूपमा उक्त चलचित्र ठिकठाक मानिए पनि समीक्षात्मक रूपमा प्रशंसा भएको थियो।
'तेल भिसा' हेरेपछि निर्देशक दीपकप्रसाद आचार्यले उनलाई आफ्नो फिल्म ‘परान’मा अनुबन्धित गराए, जसमा उनले अभिनेता महेश त्रिपाठीको आमाको भूमिका निर्वाह गरेकी छन् भने उनको जोडीको रूपमा नीर शाह रहेका छन्। बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सफल यस चलचित्रमा पूजाको कामको तारिफ भइरहेको छ। चलचित्रको रिलिजका समयमा नेपाल आएकी उनी हाल अमेरिका फर्किसकेकी छन्।
अर्की अभिनेत्री ऋचा घिमिरेले पनि आफ्नै निर्माण रहेको चलचित्र 'तेल भिसा' मार्फत कमब्याक गरेकी थिइन्। यद्यपि, उनी नेपाली चलचित्रमा निरन्तर सक्रिय रहन्छिन् वा रहन्नन् भन्ने विषय भने अझै अन्योलमा छ।
त्यस्तै, पुराना अभिनेता गणेश उप्रेती पनि 'झरीपछिको इन्द्रेणी' मार्फत दर्शकमाझ फर्किएका छन्। करिब ३२ वर्षअघि 'भाग्य रेखा' बाट उदाएका गणेशले 'मोहनी', 'लक्ष्मी पूजा', 'आमाको माया', 'ए मेरो हजुर' जस्ता हिट चलचित्रमा काम गरेका थिए। पछिल्लो पटक 'होमवर्क' मा देखिएका उनी, एक दशक लामो अमेरिका बसाइपछि अहिले बुवाको भूमिकामा पर्दामा फर्किएका हुन्। यो चलचित्र पुष ४ गतेबाट प्रदर्शनमा आउँदैछ।
विदेश पलायन भएका पुराना कलाकारहरू जल शाह, कृष्टी मैनाली, अरुणिमा लम्साल, विनीता बराल, उषा पौडेलदेखि अभिनेता जीवन लुइँटेलसम्मको कमब्याकको चर्चा बेला-बेला चल्ने गर्छ। जीवन लुइँटेलले केही महिनाअघि नेपाल आएर नाटक 'शिरिषको फूल' मा अभिनय गरेका थिए भने राज बल्लभ कोइराला गत वर्ष 'एक्टर: टेक वान' मार्फत देखिएका थिए। तथापि, यी कलाकारहरूको निरन्तरता अझै निश्चित देखिँदैन।
यस परिदृश्यमा बिपना थापा र पूजा चन्द भने चरित्र अभिनेत्रीको रूपमा आफूलाई पुनः स्थापित गर्दै नेपाली चलचित्रमा सक्रिय हुने संकेत देखाएका छन्।
पुष १, २०८२ मंगलबार १९:०४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।