तस्बिरमा एमाले महाधिवेशनको रौनक : पर्चाको कार्पेटदेखि ‘गुड्ने विज्ञापन’सम्म

तस्बिरमा एमाले महाधिवेशनको रौनक : पर्चाको कार्पेटदेखि ‘गुड्ने विज्ञापन’सम्म

काठमाडौं : घट्दो तापक्रम र चिसो सिरेटोलाई यति बेला भृकुटीमण्डपको माहोलले राम्रैसँग तताएको छ। एमालेको ११औँ महाधिवेशनको सरगर्मी उत्कर्षमा पुग्दा महाधिवेशन स्थल कुनै राजनीतिक कार्यक्रम मात्र नभई मेला महोत्सव जस्तै देखिएको छ। 

नेतृत्व चयनका लागि भइरहेको प्रतिस्पर्धाको दृश्यले सिङ्गो भृकुटीमण्डप परिसरलाई निकै रोचक बनाएको थियो। महाधिवेशन स्थल वरपरको सडकलाई हेर्दा लाग्छ, त्यहाँ कालोपत्रे होइन, कागजको बिस्कुन सुकाइएको जस्तो आभास दिन्थ्यो।

उम्मेदवारहरूले आफ्नो पक्षमा माहोल बनाउन वितरण गरेका पर्चा र पम्प्लेटहरूले सडक ढाकिएर ‘पर्चाको कार्पेट’नै बनेको भान हुन्छ। कार्यकर्ता र शुभेच्छुकहरू बाक्लो उपस्थितिका बीच तिनै प्रचार सामग्रीमाथि टेक्दै आ-आफ्ना नेतालाई जिताउन बडो उत्साहका साथ खटिरहेका छन्।

प्रचारप्रसारमा कार्यकर्ताहरूले अपनाएको शैली रोचक देखिन्थे। महाधिवेशन एउटा गाडीको सिसा, ढोका र छतसमेत नदेखिने गरी उम्मेदवारका पोस्टरले सजाएर ‘गुड्ने विज्ञापन बोर्ड’ जस्तो बनाइएको थियो।

त्यस्तै, घाम वा पानी छेक्न प्रयोग हुने छातासमेत अहिले भोट माग्ने सशक्त प्रचारको माध्यम बनेको जस्तो देखियो। छाताको चारैतिर नेताहरूको तस्बिर टाँसेर कार्यकर्ताहरूले प्रदर्शन गरेको दृश्यले एमालेभित्रको चुनावी प्रतिस्पर्धा आक्रामक बनेको दर्साउँथ्यो।

बाहिर यस्तो तामझाम र नाराबाजी चलिरहँदा भित्रभित्रै भने प्यानलको जोड घटाउले नेताहरूमा बेचैनी बढाएको देखिन्थ्यो। उनीहरू प्यानल व्यवस्थापन देखि प्रतिस्पर्धाको रणनीति बनाउन कसरतमा थिए। केही नेताहरू प्रतिनिधिलाई रिझाउनतिर व्यस्त देखिन्थे। नेताहरूको हाउभाउले अन्तिम समयको समीकरण र आन्तरिक व्यवस्थापनको व्यस्ततालाई उजागर गर्छ।

भृकुटीमण्डपमा देखिएको प्रचारका  अनौठो दृश्यले एमालेको आगामी पाँच वर्षको नेतृत्व चयन प्रक्रियालाई एउटा अविस्मरणीय उत्सवका रूपमा स्थापित गरेको छ।

पुष १, २०८२ मंगलबार १८:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।