हिजो ओलीले महासचिव नदिँदा रुँदै निस्किएका प्रदीप ज्ञवाली आज ओलीको प्यानललाई मत माग्दै
काठमाडौं : एमालेको महासचिव बन्ने तीव्र आकाङ्क्षा राखेका उपमहासचिव प्रदीप ज्ञवाली अन्ततः केन्द्रीय सदस्यमा मात्रै खुम्चिएका छन्।
सोमबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा आफूले चाहेको महासचिव पद नपाएपछि रुँदै बन्दसत्रबाट बाहिरिएका ज्ञवालीले मंगलबार बिहान भने यू-टर्न लिँदै ओलीकै पक्षमा खुलेर मत मागेका छन्।
पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका ज्ञवाली महासचिव नपाएपछि यति विरक्तिए कि उनले अध्यक्ष ओलीले अफर गरेको उपाध्यक्ष पद समेत अस्वीकार गरे। र आक्रोश तथा निराशा पोख्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराए।
सोमबार बन्दसत्र हलबाट निस्कँदा उनी निकै भावुक देखिएका थिए। उनले निकटस्थहरूसँग एउटै व्यक्तिलाई पटक-पटक अवसर दिने र आफूजस्तो इमानदार नेतालाई पाखा लगाउने प्रवृत्तिप्रति गुनासो गरेका थिए।
तर, रातभरको कसरतपछि मंगलबार बिहानको दृश्य भने फेरियो। ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा भावुक स्ट्याटस लेख्दै आफू ‘हमेशा कार्यकर्ताको बीचमा रहने’ बताएका छन्।
रोचक कुरा त के छ भने, हिजो जसको निर्णयले उनको मन दुखेको थियो, आज उनै अध्यक्ष ओलीको सिङ्गो टिमलाई जिताउन उनले प्रतिनिधिहरूलाई अपिल गरेका छन्।
ज्ञवालीले लेखेका छन्, ‘एघारौं राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण... यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु।’
उनले आफू केन्द्रीय कमिटीको सदस्य पदमा मात्र उम्मेदवार रहेको स्पष्ट पार्दै मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन्।
ज्ञवालीको असन्तुष्टिलाई साम्य पार्न र उनलाई पुनः मूलधारको चुनावी अभियानमा सक्रिय गराउन ओलीका विश्वासपात्र मानिने नेता सूर्य थापा मंगलबार बिहानै ज्ञवाली निवास पुगेका थिए।
थापाले ज्ञवालीसँगको हँसिलो तस्बिर सार्वजनिक गर्दै ‘शुभ बिहानी- अभिवादन!’ लेख्नुले पनि ज्ञवालीको असन्तुष्टि व्यवस्थापन भएको बुझिन्छ।
पुष १, २०८२ मंगलबार १२:०६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।