एमाले महाधिवेशनमा ज्योति मगरको ‘इन्ट्री’, पूर्ण गुरुङलाई भोट माग्दै झाँकीमा नाचिन्
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा चुनावी सरगर्मी बढेसँगै रमाइला दृश्यहरू पनि देखिन थालेका छन्।
मंगलबार महाधिवेशनस्थलमा चर्चित लोकगायिका ज्योति मगरको ‘सरप्राइज इन्ट्री’ भएको छ।
गायिका मगर महाधिवेशन प्रतिनिधिको रूपमा नभई एक उम्मेदवारको पक्षमा मत माग्न त्यहाँ पुगेकी हुन्। उनी जनजाति समुदायको झाँकी र र्यालीमा सहभागी हुँदै नाचेकी थिइन्।

गायिका मगरले हातमा एमाले नेता पूर्ण बहादुर गुरुङको तस्बिर अंकित पोस्टर बोकेकी थिइन्। उनी गुरुङलाई जिताउन अपिल गर्दै जुलुसमा सहभागी भएकी हुन्।
गुरुङको समर्थनमा निकालिएको झाँकीमा सहभागीहरूले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो...’ भन्दै नाराबाजी गरेका थिए, जसमा ज्योतिले पनि नाच्दै साथ दिइन्।
सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै गायिका मगरले महाधिवेशनको माहोल निकै रमाइलो लागेको बताइन्। उनले भनिन्, ‘समावेशीताको कुरा छ। युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ। त्यसकारणले युवा नेता पूर्ण गुरुङ चाहियो।’

आफू अहिलेसम्म एमाले पार्टीमा प्रवेश नगरेको भए पनि युवा र समावेशी नेतृत्वको पक्षमा आफूले गुरुङलाई समर्थन गरेको उनले स्पष्ट पारिन्। पछिल्लो समय उनी आफ्ना अन्तरवार्ताहरूमा एमालेप्रति सकारात्मक देखिँदै आएकी थिइन्।
महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने भृकुटीमण्डप परिसरमा उम्मेदवार र तिनका समर्थकहरूले मत माग्ने क्रम तीव्र पारेका छन्।
पुष १, २०८२ मंगलबार ११:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।