रसुवाको उत्तरगयामा लडेर एक पुरुषको मृत्यु
रसुवा : रसुवाको उत्तरगया गाउँपालिका-४ घलेगढीमा लडेर एक व्यक्तिको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय अजय बुलुन रहेका छन्।
प्रहरीका अनुसार बुलुन सोमबार साँझ आफ्नै घरबाट करिब २०० मिटर पश्चिममा रहेको छिमेकी लालबहादुर थिङको घर पछाडिको भित्ताको खोँचमा लडेको अवस्थामा मृत फेला परेका हुन्।
सोमबार साँझ साढे ७ बजेतिर घटना भएको र ८ बजे प्रहरीलाई खबर प्राप्त भएको थियो। खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक बालकृष्ण प्रधानको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो।
इलाका प्रहरी कार्यालय कालिकास्थानबाट करिब ४ किलोमिटर र वेत्रावतीबाट ५ किलोमिटर दुरीमा रहेको उक्त स्थानमा रातको समयमा मुचुल्का उठाउन असहज परिस्थिति सिर्जना भएपछि प्रहरीले रातभर घटनास्थल सुरक्षित राखेको थियो।
मंगलबार बिहान पौने ८ बजे घटनास्थलको प्रकृति मुचुल्का लगायतको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
पुष १, २०८२ मंगलबार ११:२९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।