एमाले महाधिवेशन : लेखा र अनुशासन आयोगका पदाधिकारीसहित यी क्लस्टरमा सर्वसम्मत (सूचीसहित)
काठमाडौं : काठमाडौंमा जारी एमालेको ११औं महाधिवेशनमा अध्यक्षसहितका शीर्ष पदमा निर्वाचन हुने पक्का भए पनि, लेखा आयोग, अनुशासन आयोग र केही समावेशी क्लस्टरका उम्मेदवारहरू भने सर्वसम्मत हुने भएका छन्।
केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको प्रारम्भिक नामावली अनुसार, माग गरिएको पद संख्या र परेको उम्मेदवारी संख्या बराबर भएपछि उनीहरू मतदान प्रक्रियामा जान नपर्ने देखिएको हो। यद्यपि, यसको औपचारिक घोषणा भने अन्तिम नामावली प्रकाशन भएपछि मात्र हुनेछ।
प्रारम्भिक सूची अनुसार दुई आयोगका सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन भएका छन्। पार्टीको केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारीहरूमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्र बहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे सर्वसम्मत चयन हुँदा केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल सर्वसम्मत चयन भए।
यस्तै विभिन्न प्रदेश र समावेशी क्लस्टरका महिला तथा खुल्ला सदस्यहरूमा पनि सर्वसम्मत देखिएको छ।
लुम्बिनी प्रदेश (महिला) मा तीन जनाको कोटामा ३ जनाकै उम्मेदवारी परेकोले गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकाल सर्वसम्मत चयन भएका छन्।
यता मुस्लिम (महिला)मा एक जनाको कोटामा खाजिदा खातुन सिद्दिकीको मात्र उम्मेदवारी परेको छ भने श्रमिक (महिला)मा २ जनाको कोटामा कमला देवी तामाङ र सिता लामा को उम्मेदवारी परेको छ।
त्यसैगरी पिछडिएको क्षेत्र (महिला)मा १ जनाको कोटामा वदमी क्वारी बुढा (बोहरा)को मात्र उम्मेदवारी पर्दा प्रवास (दक्षिण एसिया)मा एक जनाको कोटामा हरि प्रसाद घिमिरेको एकल उम्मेदवारी परेसँगै उनीहरू सर्वसम्मत भएका हुन्।
त्यसैगरी केही क्लस्टरमा छुट्याइएको कोटा भन्दा पनि कम उम्मेदवारी परेको छ, जसले गर्दा उम्मेदवारी दिने सबै जना स्वतः सर्वसम्मत हुनेछन् भने बाँकी पद रिक्त रहनेछ।
कर्णाली प्रदेश (महिला)मा ३ जनाको कोटा रहेकोमा इन्दिरा कुमारी पन्थी र मिनासिंह रखाल गरी दुई जनाको मात्र उम्मेदवारी परेको छ छ भने मधेशी (महिला)मा ६ जनाको कोटा रहेकोमा ज्वाला कुमारी साह, प्रतिक्षा तिवारी, रेखा कुमारी झा, सरिता कुमारी गिरी र सविता यादव गरि पाँच जनाको मात्र उम्मेदवारी परेको छ।
यस्तै मधेशी (युवा)मा दुई जनाको कोटा रहेकोमा अमर कुमार यादवको मात्र उम्मेदवारी पर्दा उनी पनि सर्वसम्मत चयन भएका छन्।
पुष १, २०८२ मंगलबार ०९:४८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।