विद्युतीय मेसिनको तयारी नसकिँदा एमालेको मतदान ४ बजेसम्म लम्बियो, एक जनालाई भोट हाल्नै ३५ मिनेट लाग्ने
काठमाडौं : काठमाडौंमा जारी एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ।
विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण राख्ने काम नसकिएकाले मतदान अपराह्न ४ बजेपछि मात्र सुरु हुने देखिएको हो।
केन्द्रीय निर्वाचन आयोगले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको थियो। तर, उम्मेदवारको अन्तिम नामावली र फोटो मेसिनमा प्रविष्ट गराउन समय लागेकाले तालिका प्रभावित भएको हो।
भोटिङ मेसिनका प्राविधिकहरूका अनुसार उम्मेदवारको अन्तिम नामावली राति १ बजे मात्र प्राप्त भएको थियो।
प्राविधिक लक्ष्मण रिमालले भन्नुभयो, ‘अहिले फोटो मिलाउने र कोडिङ गर्ने काम भइरहेको छ। यो सबै सकेर मतदान सुरु गर्न करिब ४ बज्छ होला।’
निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपराह्न ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ।
महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ। तर, उम्मेदवारहरूको सङ्ख्या धेरै भएकाले मतदान प्रक्रिया लामो हुने देखिएको छ।
प्राविधिक रिमालका अनुसार एक जना मतदाताले सबै पदमा भोट हाल्न कम्तीमा ३० देखि ३५ मिनेट समय लाग्नेछ। कतिपय अवस्थामा ४० मिनेटसम्म पनि लाग्न सक्ने अनुमान गरिएको छ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। मतदान प्रक्रिया ढिलो सुरु हुने भएपछि प्रतिनिधिहरू पर्खाइमा रहेका छन्।
पुष १, २०८२ मंगलबार ०९:००:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।