काठमाडौंबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ, भारतीय नागरिक 'मुख्य योजनाकार'

काठमाडौंबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ, भारतीय नागरिक 'मुख्य योजनाकार'

काठमाडौं : प्रहरीले काठमाडौंको कुलेश्वर क्षेत्रबाट ठुलो परिमाणमा नियन्त्रित लागुऔषधसहित एक भारतीय नागरिक र दुई नेपालीसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा गरेको अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने १९ वर्षीय मुन्ना यादव, मोरङ कानेपोखरी-५ घर भई कुलेश्वर बस्ने २३ वर्षीय डोरराज परियार र तनहुँ मिर्लुङ-३ घर भई कुलेश्वरमै बस्ने ३४ वर्षीय कृष्ण भण्डारी रहेका छन्।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक मुन्ना यादव यस गिरोहको मुख्य योजनाकार रहेको खुलेको छ। उनीहरूले भारतको रक्सौल नाका हुँदै काठमाडौंसम्म लागुऔषध ल्याएर बिक्रीवितरण गर्ने गरेको पाइएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट भारी मात्रामा इन्जेक्सन र ट्याब्लेटहरू बरामद गरेको छ। बरामद गरिएका लागुऔषधको विवरण यसप्रकार छ:

डायजेपाम इन्जेक्सन: २,३९५ थान
प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन: २,३०० थान
बुप्रेनोर्फिन इन्जेक्सन: २,१५६ थान
ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम): २,७०० थान
मोबाइल फोन: १० थान

पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको एसपी आचार्यले जानकारी दिए।

पुष १, २०८२ मंगलबार ०७:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।