एमाले ११औँ महाधिवेशन : ८ केन्द्रीय सदस्य र दुई आयोगका पदाधिकारी निर्विरोध
काठमाडौं : एमालेको ११औँ महाधिवेशनमा विभिन्न समूह र दुई आयोगका पदाधिकारीका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। तोकिएको संख्या भन्दा बढी उम्मेदवारी नपरेपछि विभिन्न समूहका लागि छुट्ट्याइएको केन्द्रीय सदस्य र दुई आयोगका पदाधिकारी निर्विरोध भएका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार युवातर्फको दुई खुला केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील थापाको मात्र उम्मेदवारी परेकाले दुवै निर्विरोध निर्वाचित भएका छन्। मधेसी युवातर्फ अमर कुमार यादवको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भए।
मुस्लिम महिला कोटामा खाजिदा खातुन सिद्धकीको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध निर्वाचित भइन्। यसैगरि श्रमिक महिलामा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकाले उनीहरू पनि निर्विरोध भएका छन्। पिछडिएको क्षेत्रको महिला कोटाबाट बदमी क्वाँरी बुढा (बोहरा) निर्विरोध निर्वाचित भइन्। यसैगरी प्रवास (दक्षिण एसिया) कोटाबाट हरि प्रसाद घिमिरे निर्विरोध निर्वाचित भए।
अनुशासन र लेखामा पनि निर्विरोध
निर्वाचन समितिले सोमबार मध्यरात सार्वजनिक गरेको उम्मेदवार सूची अनुसार केन्द्रीय आयोग र लेखाका पदाधिकारीहरू पनि निर्विरोध भएका छन्।
अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेन्द्र घिमिरे निर्विरोध चयन भए। त्यसैगरी लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध निर्वाचित भए।
मंसिर २९, २०८२ सोमबार २३:००:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।