ओली समूहमा विद्रोह, प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारीदिँदा कृष्णगोपालले गुटै बदले
काठमाडौं : मुख्य पदाधिकारीमा १० औँ महाधिवेशनकै नेता दोहोर्याउँदै प्यानलमा राखेपछि तेस्रो पटक एमाले अध्यक्ष हुने प्रतिस्पर्धामा रहेका केपी ओली समूहका नेताहरूले विद्रोह गरेका छन्। उपाध्यक्षदेखि सचिवसम्मै अधिकांश १० औँ महाधिवेशनका आफ्ना समूहका नेतालाई समेटेपछि केही नेताले प्रस्तावित पदको भद्र अवज्ञा गर्दै अर्कै पदमा उम्मेदवारी दिए। केहीले गुट नै बदले।
प्यानलमा नपरे पनि ओली समूहका केही नेताहरूले स्वतन्त्र उम्मेदवारी समेत दिए। १० औँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भएपछि सङ्कटको बेलामा सधैँ ओलीलाई पार्टीभित्र र बाहिर साथ दिँदै आएका भद्र नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए।
उनले महासचिवमा दाबी गरे पनि ओलीले शंकर पोखरेललाई नै दोहोर्याउने भन्दै उनलाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए। तर उनले मानेनन् र एकै व्यक्तिलाई एकै पदमा बारम्बार दोहोर्याउने प्रवृत्ति विरुद्ध मौन विद्रोह गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। ईश्वर पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्।
ओली समूहले केन्द्रीय सदस्यमा राखेको भीम आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिए। उनले प्यानल खुलाएका छैनन्। उनी ईश्वर समूहबाट उपाध्यक्षको उम्मेदवार बन्ने सम्भावना देखिन्छ। रघुजी पन्तले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विद्या भट्टराई शिक्षा मन्त्रीबाट हटेपछि ओलीले पन्तलाई मन्त्री बनाएका थिए।
आनन्द पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिए। ओली समूहका अर्का नेता राजेन्द्र गौतमले समेत प्यानलमा नपरे पनि उपमहासचिव पदमा उम्मेदवारी दिए।
ओलीको पक्षमा सक्रिय रहेका कृष्णगोपाल श्रेष्ठ सचिवको उम्मेदवार बन्न चाहन्थे। तर ओली समूहमा केन्द्रीय सदस्यमा मात्र अटाएपछि उनले समूह नै बदलेर ईश्वर पोखरेलको प्यानलबाट सचिवमा उम्मेदवारी दिए। श्रेष्ठले आफूमाथि पटक पटक अन्याय भएकाले समूह नै बदलेको दाबी गरे।
धेरै अगाडिबाट ओलीसँग सम्बन्ध बिग्रिएका गोकुल बास्कोटा प्यानल खुलाउँदै ईश्वर समूहबाटै सचिवको उम्मेदवार बने। पार्टीभित्र आफ्नो लोकप्रियता परीक्षण गर्न सचिवमा उम्मेदवारी दिएको उनको दाबी छ। अग्नि खरेलले पनि ओलीले छुट्टाएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न चाहेनन् र सचिवमा उम्मेदवारी दिए। उनले प्यानल खुलाएका छैनन्। ओली समूहका लालबाबु पण्डितले पनि प्यानल नखुलाई सचिवको उम्मेदवार बने।
मंसिर २९, २०८२ सोमबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।