विधान संशोधनमा ईश्वर पोखरेलको विमति : जे अनुकूल हुन्छ, त्यही गर्दै जाने हो ?
काठमाडौं : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन र कमिटीको आकार बढाउने प्रस्तावमाथि असहमति जनाएका छन्। केन्द्रीय कमिटी बैठकमा उनले विधान महाधिवेशनबाट पारित साङ्गठनिक संरचनालाई आफू अनुकूल चलाउन खोजिएको भन्दै प्रतिवाद गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपघट गर्ने प्रस्ताव ल्याएपछि उनले विधानको स्थिरता र नेतृत्वको कार्यशैलीमाथि प्रश्न तेर्स्याए। विधान महाधिवेशनको मर्म विपरीत अहिले पद व्यवस्थापनका लागि मात्रै संख्या बढाउन खोजिएको उनको भनाइ थियो।
‘के हाम्रो विधान अस्थायी हो ? जे अनुकूल हुन्छ, त्यही गर्दै जाने हो ? हिजो विधान महाधिवेशनअगाडि संख्या घटाऊँ भन्ने तपाईंहरू नै होइन ?,' पोखरेलले प्रश्न गरे।
उनले महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत कार्यसूची र वैधानिक व्यवस्थाअनुसार मात्र अघि बढ्न सुझाव दिए। पोखरेलले भने, 'वैधानिक विषयअनुसार चलौं, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौं। दायाँबायाँ नगरौं। २ कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरू बाहेक हुने? यस्तो तर्कले हामीलाई कता पुर्याउँछ ?’
जेनजी आन्दोलनपछि विकसित परिस्थितिले दल र नेताहरूको परम्परागत कार्यशैली र आचरणमा सुधार खोजेको र नेतृत्वले त्यसलाई ‘संख्या बढाउने’ अवसरका रूपमा लिन नहुने बताए। सडकबाट उठेको युवा पुस्ताको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने पोखरेलको जोड थियो।
'बदलिएको परिस्थितिले अंक बढाऊ भनेको होइन। बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबरजस्त सन्देश दिएको छ,' उनले प्रश्न गरे, 'के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जँचिएन र ?'
मंसिर २८, २०८२ आइतबार १५:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।