जसपाको सर्कुलर : उम्मेदवार सिफारिस गर्न निर्देशन, सोझै केन्द्रमा आवेदन पनि दिन सकिने

जसपाको सर्कुलर : उम्मेदवार सिफारिस गर्न निर्देशन, सोझै केन्द्रमा आवेदन पनि दिन सकिने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्न निश्चित कार्यतालिका र मापदण्ड तोकिएको छ।

पार्टीले जारी गरेको सर्कुलर अनुसार, संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा नाम सिफारिस गर्नुपर्नेछ। जिल्ला समितिले प्राप्त नामावलीमा आवश्यक निर्णय गरी पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्नेछ।

त्यसैगरी, प्रदेश समितिले जिल्लाबाट प्राप्त नाममाथि छलफल गरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनाको नाम पुस २० गतेभित्र केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय संसदीय बोर्डमा पठाइसक्नुपर्ने छ।

बस्नेतका अनुसार समानुपातिकतर्फ भने जिल्ला समितिले जातीय क्लस्टर मिलाएर समावेशी हुने गरी कम्तीमा ३ जना पुरुष र ३ जना महिलाको नाम पुस १ गतेभित्र प्रदेश समितिमा पठाउनुपर्नेछ। प्रदेश समितिले उक्त नामावलीमा रायसहितको निर्णय गरेर पुस ५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्ने उनले जानकारी दिए।

सिफारिस गरिएका नामहरू पठाउँदा सम्बन्धित समितिहरू (क्षेत्रीय, जिल्ला र प्रदेश) ले गरेका बैठकका निर्णय पुस्तिकाको प्रतिलिपि पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र नाम प्राप्त नभएमा वा पठाउन नसकेमा संघीय संसदीय बोर्डले नै उम्मेदवार मनोनयन गरिने सर्कुलरमा उल्लेख छ। 

बस्नेतले भने, ‘पार्टी विधानको धारा- ११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनै पनि सङ्गठित पार्टी सदस्यले प्रत्यक्ष तर्फ वा समानुपातिक तर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिन सक्ने छ। यसरी आएका आवेदन उपर संघीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ।’ 

उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने अधिकार संघीय संसदीय बोर्डमा निहित रहने जसपा नेपालले जनाएको छ।

मंसिर २८, २०८२ आइतबार ०९:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।