विश्वास थियो, टिम एकजुट भएर लागेपछि च्याम्पियन बन्यौं : कप्तान पौडेल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि जितेपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताएका छन्।
उनले भने, 'उपाधि जित्छौं भन्ने सुरुदेखि विश्वास थियो। सबै टिम एकजुट भएर लाग्यौं र च्याम्पियन बन्यौं।' लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो।
टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार पाएका छन्। लुम्बिनीको सफलता रोहितको प्रदर्शन अलराउन्ड रह्यो।
उनी सिजनमा सर्वाधिक दुई सय ७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे। रोहितले बलिङतर्फ पनि १० विकेट लिए। रोहित उत्कृष्ट ब्याटर पनि भए। प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए।
लगातार दोस्रो पटक उपविजेता मै सीमित भएपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले फाइनल आफ्नो पक्षमा नपर्दा प्रतियोगिताभर गरेको मेहेनत खेर गएको बताए। उनले भने, 'एक महिनादेखि उपाधि जित्ने लक्ष्यका साथ मेहेनत गरेका थियौं, फाइनलमा चुक्दा सबै मेहेनत खेर गयो।'
ब्याटिङ नचल्नु नै हारको कारण बनेको प्रशिक्षक टमटाले बताए। उनले भने, 'टस जितेर ब्याटिङ रोजेपछि स्कोर नै कम बन्यो जसले गर्दा विपक्षी टोलीले सहजै जित निकाल्यो। आज हाम्रो खराब दिन थियो।'
मंसिर २८, २०८२ आइतबार ०७:२८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।