भदौ २३ र २४ को घटनामा ओलीलाई जिम्मेवार चित्रण गर्ने दुष्प्रयत्न गरियो : महासचिव पोखरेल

भदौ २३ र २४ को घटनामा ओलीलाई जिम्मेवार चित्रण गर्ने दुष्प्रयत्न गरियो : महासचिव पोखरेल

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले एमाले र यसको नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन्। 

पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा उनले ‘भदौ २३ र २४ गते’को घटनालाई लिएर अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने र पार्टी सिध्याउने खेल रचिएको बताए। उनले पछिल्ला घटनाक्रमहरूलाई राष्ट्र र लोकतन्त्रविरुद्धको सुनियोजित प्रहारको संज्ञा दिए।

‘भदौ २३ र २४ गतेको घटनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जनु प्रकारको प्रचारबाजी गरियो। जिम्मेवारका रूपमा ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो,’ पोखरेलले भने, ‘नेपालको इतिहासमा २३ र २४ गते जुन प्रकारका घटना भए। नवयुवाको भावनामा खेलेर राष्ट्र विरोधी, लोकतन्त्र, गणतन्त्र र नेपालका राजनीतिक दलका विरुद्धमा षड्यन्त्रपूर्ण गतिविधि भएका छन्।’

एमालेको भविष्य सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको प्रयास सफल नभएको उनको जिकिर छ। पोखरेलले अगाडि भने, ‘षड्यन्त्रबाट हामी सरकारबाट बाहिरिएका छौं। तर जनताको मनमा गहिरो गरी बसेका थियौं। खरानीको थुप्रोबाट हामी फेरि उठ्नेछौं।’

महासचिव पोखरेलले देशको वर्तमान राजनीतिक अवस्था संकटपूर्ण रहेको औँल्याए। दशकौंको संघर्षबाट प्राप्त संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको उनको भनाइ थियो। 'हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११ औँ महाधिवेशन आयोजना गरिरहेका छौं, देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट निर्माण भएको संविधान घायल भएको छ। जनताले दशकौं लामो संघर्षबाट प्राप्त लोकतन्त्र कमजोर बनाइएको छ,' पोखरेलले भने।

मंसिर २७, २०८२ शनिबार १५:१४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।