एमाले महाधिवेशनको मञ्चदेखि मैदानसम्म ओलीमय, संस्थापक नेताहरूको तस्बिर ‘फाट्टफुट्ट’ मात्र
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह अहिले भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा जारी छ। महाधिवेशनको उद्घाटन स्थलमा देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता आएका छन्।
महाधिवेशन स्थलमा प्रवेश गर्ने जुलुस, झाँकी र र्यालीहरूमा बोकिएका ब्यानर, झण्डा र प्लेकार्डहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिरको वर्चस्व छ।
एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी र मनमोहन अधिकारीलगायतका अग्रज नेताहरूको तस्बिर भने ‘फाट्टफुट्ट’ बाहेक देख्न मुस्किल परेको छ।

दिउँसो १२:४५ बजेसम्म कार्यक्रम स्थल करिब-करिब भरिसक्दा अधिकांश सहभागीको हातमा र मञ्च वरपरको सजावटमा ओलीकै तस्बिरहरू छ्यापछ्याप्ती देखिएका छन्।

एमालेको विभिन्न कार्यक्रमहरूको ब्यारमा अध्यक्ष ओलीबाहेक अन्य केन्द्रीय तहका नेताको तस्बिर प्रयोग भएपछि अध्यक्ष ओलीकै करबलमा केही संस्थापक नेता र अध्यक्षबाहेक अरुको तस्बिर नराख्ने निर्णय गर्दै पार्टीभित्र सर्कुलर जारी गरिएको थियो।

बिहानको समयमा महाधिवेशन स्थल प्रवेश गर्ने मुख्य द्वारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा जाँच गरेर मात्रै सहभागीलाई भित्र पठाएका थिए। तर, दिउँसो बाक्लो जुलुस र सहभागीको चाप एक्कासी बढेपछि सुरक्षा जाँच रोकिएको छ।

अहिले प्रहरीले भिड नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि एमालेका स्वयंसेवकहरू नै सक्रिय भएर भिड व्यवस्थापन र सहजीकरण गरिरहेका छन्। महाधिवेशन उद्घाटनमा १० हजारभन्दा बढी स्वयंसेवकहरू परिचालन गरिएको आयोजकले जनाएको छ।

महाधिवेशनको रौनकमा अर्को गम्भीर दृश्य पनि देखिएको छ। झाँकी र र्यालीसहित प्रवेश गरेका समूहहरूमा बालबालिकाको समेत प्रयोग भएको पाइएको छ।
राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोगलाई निरुत्साहित गरिए पनि महाधिवेशनको जुलुसमा साना नानीबाबुहरू झण्डा र ब्यानर बोकेर हिँडेको देखिएको छ।

महाधिवेशन स्थल अहिले राजनीतिक कुम्भमेलाजस्तै बनेको छ। एकातिर मञ्चमा शीर्ष नेताहरूको भाषण र अर्कोतिर चौरमा स्थानीय उत्पादनको बिक्री वितरण चलिरहेको छ।

इलामको अकबरे खुर्सानी, घिउदेखि विभिन्न पुस्तक र खानेपानीका स्टलहरूमा सहभागीको भिड छ । घाम ताप्दै बदाम र सुन्तला खाँदै कार्यकर्ताहरूले महाधिवेशनलाई उत्सवको रूपमा मनाइरहेका छन्।

केही बेरअघि अध्यक्ष ओलीले रिमोट कन्ट्रोलमार्फत विद्युतीय पाला बालेर र झण्डा फहराएर महाधिवेशनको औपचारिक उद्घाटन गरेका छन्।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरू अतिथिका रूपमा सहभागी हुँदैछन्। देशभरबाट करिब ३ लाख जनसहभागिता रहने आयोजकको दाबी छ।
एमाले महाधिवेशनका अन्य समाचार:
मंसिर २७, २०८२ शनिबार १४:०२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।