छोरीको घरमा गएकी वृद्धाको खाना अड्किएर मृत्यु
धादिङ : धादिङमा खाना खाँदा घाँटीमा अड्किएर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नीलकण्ठ नगरपालिका-८ टारगाउँ निवासी ६२ वर्षीया बट्टाई विक रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना मङ्सिर २६ गते साँझ करिब ६ः२० बजेको हो। मृतक विक दुई दिनअघि नीलकण्ठ नगरपालिका-७, पिपलटारस्थित छोरीको घरमा गएकी थिइन्।
बुधबार साँझ खाना खाने क्रममा एक्कासी घाँटीमा खाना अड्किएपछि उनलाई असहज भएको थियो। लगत्तै निजको छोराले उपचारका लागि जिल्ला अस्पताल धादिङबेँसी ल्याएका थिए।
तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार सुमन महतोले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धादिङबाट करिब ३ किलोमिटर पश्चिममा पर्ने पिपलटारमा भएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
मंसिर २७, २०८२ शनिबार १०:४५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।