४३ वर्षपछि फराकिलो बन्दै रिडी-तम्घास सडक, ८५ प्रतिशत काम सम्पन्न

४३ वर्षपछि फराकिलो बन्दै रिडी-तम्घास सडक, ८५ प्रतिशत काम सम्पन्न

बुटवल : साँघुरो सडक र जोखिमपूर्ण घुम्तीका कारण दुर्घटनाको उच्च जोखिम रहेको गुल्मीको रिडी-तम्घास सडक खण्ड ४३ वर्षपछि स्तरोन्नति भइरहेको छ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो सडकको ट्र्याक ४३ वर्षअघि खोलिएको थियो। पहिलो चरणमा रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्मको २५ किलोमिटर सडक विस्तार भइरहेको छ।

१ अर्ब ५० करोड रुपैयाँ लागतमा ‘समानान्तर-एलाइट जेभी’ले २०७९ फागुन २६ मा ठेक्का सम्झौता गरेको थियो।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका अनुसार हालसम्म यस खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। २५ किलोमिटरमध्ये १८ किलोमिटर सडक निर्माण पूरा भएको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले सडकको ग्रेड कटिङ, मोड सुधार तथा उकालो र अप्ठ्यारो स्थानमा ढलान र सहज स्थानमा कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको बताए।

सडक स्तरोन्नतिसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासी हर्षित छन्।

यसैबीच, दोस्रो चरणको १.७४ किलोमिटर सडक निर्माणका लागि १० करोड ८६ लाख ५४ हजार लागतमा ‘श्री विरुपाते ओम नमः जेभी’सँग सम्झौता भएको छ।

२०८२ जेठ २५ गते सम्झौता भएको यो खण्डको काम हाल ५ प्रतिशत मात्र सम्पन्न भएको छ भने सम्पन्न गर्नुपर्ने मिति २०८३ जेठ २४ तोकिएको छ।

सडक विस्तारका क्रममा प्रभावित हुने स्थानीयलाई क्षतिपूर्तिबापत १ करोड ५३ लाख ३२ हजार रुपैयाँ वितरण गरिएको छ।

श्रृङ्गा, विरबास, लधुवा, बलेटक्सारलगायत स्थानमा ११४ वटा घरटहरा सडक मापदण्डभित्र परेका छन्।

कुल ५ करोड २३ लाख ६१ हजार मुआब्जा मूल्याङ्कन गरिए पनि कम बजेट विनियोजनका कारण हाल ५० प्रतिशत रकम मात्र उपलब्ध गराइएको छ।

पहिलो चरणको काम २०८२ फागुन २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि न्यून बजेट विनियोजन, बहुवर्षीय सहमति प्राप्त नहुनु, रुख कटान तथा जग्गा भोगाधिकारको स्वीकृतिमा जटिलता र बस्ती क्षेत्रमा हुने विवादका कारण तोकिएको समयमा काम सम्पन्न गर्न मुस्किल पर्ने आयोजनाले जनाएको छ।

मंसिर २६, २०८२ शुक्रबार १३:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।