जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न सक्षम नेतृत्व चाहिन्छ : मन्त्री घिसिङ

जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न सक्षम नेतृत्व चाहिन्छ : मन्त्री घिसिङ

वीरगञ्ज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रूपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताएका छन्।

बिहीबार यहाँ आयोजित एक कार्यक्रमबीच उनले वर्तमान सरकारले मुलुकभरका युवाको मागलाई संस्थागत गर्ने गरी काम अघि बढाइरहेको बताए। चुनावबाट विश्वासिलो नेतृत्व चयन गर्ने विषयमा गम्भीर भएर सोच्न पर्ने उनको भनाई थियो।

''तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नुपर्ने अवस्था छ,' उनले भने, 'भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, सुशासनजस्ता आन्दोलनको म्याण्डेट पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नुपर्ने आवश्यकता छ।'

मन्त्री घिसिङले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीका माग र आकाङ्क्षालाई पूरा गर्ने बताए। 'युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व हुने गरी अघि बढाउनुपर्ने हुन्छ। युवा शक्तिको हरेक क्षेत्रमा उत्तिकै आवश्यकता भएकाले पनि राजनीतिमा युवा आउन जरुरी छ,' उनले भने। 

मंसिर २५, २०८२ बिहीबार २१:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।