मनी ट्रान्सफर र डिजिटल वालेटको आवरणमा प्रभुदेखि ई-सेवासम्म हुन्डीमा संलग्न, एजेन्ट समातिएसँगै सिआइबी अनुसन्धानमा
काठमाडौं : नेपालका नाम चलेका डिजिटल वालेट कम्पनीहरू मनि ट्रान्सफरको आवरणमा हुन्डी कारोबारमा संलग्न रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को एक अनुसन्धानमा नेपालमा मनि ट्रान्सफर र डिजिटल वालेटको रूपमा काम गर्न दर्ता भएका कम्पनीहरूले भारतबाट हुन्डी गराएर नेपालमा पैसा भित्र्याउने गरेको खुलेको हो।
ब्युरोले प्रभु म्यानेजमेन्टले मनी ट्रान्सफरको सुपर एजेन्टको रूपमा काम गर्ने भन्दै विभिन्न सहकारीबाट लिएको रकम अपचलन गरेको घटनाबारे अनुसन्धान गर्दा अनुसन्धानको दायरामा परेका बाराका रामबाबु प्रसाद जयसवालको बयानबाट नेपालका चर्चित डिजिटल वालेट इसेवा समेत हुन्डी कारोबारमा संलग्न रहेको देखिन्छ।
मंसिर १४ गते काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा बयानकाक्रममा जयसवालले प्रभु मनी ट्रान्सफरसँगै आफूले भारतमा पैसा बुझेर नेपाल ल्याएर राखिदिने अन्य मनी ट्रान्सफर र डिजिटल वालेटबारे समेत खुलाएका छन्।
प्रहरी अनुसन्धान र उनको बयानमा भारतमा रहेका भारतीय नागरिक हरिस जयसवालको निर्देशनमा उनले भारतमा नेपाली रुपैंया बोकेर नेपाल ल्याई विभिन्न मनी ट्रान्सफर, डिजिटल वालेट र व्यक्तिहरूको बैंक खातामा जम्मा गरिदिने गरेको खुलेको छ।
अभियोग पत्रमा समावेश बयानमा रामबाबुले भारतबाट एक पटकमा १० लाखदेखि १७ लाख रुपैयाँसम्म नगद बोकेर नेपाल आउने र हरिसले जुन जुन बैंक खाता दिएका हुन्थे त्यसैमा जम्मा गरिदिने गरेको खुलाएका छन्।
उनले बयानमा भनेका छन्, “करिब ५/६ वर्षअघि भारतस्थित ससुराली गएको बेला भारतीय नागरिक हरिस जयसवालसँग भेट भयो। उनले मलाई नेपाली रुपैयाँ उपलब्ध गराउने र सो रकम नेपालस्थित विभिन्न व्यक्ति तथा कम्पनीका खातामा जम्मा गरिदिएबापत प्रतिलाख २ सय ५० रुपैयाँ कमिसन दिने प्रस्ताव गरे। मैले सोही प्रस्ताव स्वीकार गरी यो काम थालेको हुँ।”
ईसेवा, आईएमईदेखि किराना पसलसम्म हुन्डीको जालो
रामबाबुले भारतबाट ल्याएको अवैध रकम नेपालका चर्चित रेमिटेन्स, मनी ट्रान्सफर र डिजिटल वालेटहरूको खातामा जम्मा गर्ने गरेको देखियो। उनले ‘बि.एन्ड एस सब. रेमिटेन्स’ र आफ्नै नाम उल्लेख गरेर ती कम्पनीहरूको खातामा रकम जम्मा गर्ने गरेको खुलाएका छन्।
उनको बयान अनुसार उनले भारतबाट हुन्डी गरेर ल्याएको रकम ईसेवा मनी ट्रान्सफर प्रालि, सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लिमिटेड, जीएमई रेमिट प्रालि, पेवेल नेपाल प्रालि, आइपे रेमिट प्रालि, प्रभु म्यानेजमेन्ट, सजिलोपे पेमेन्ट सर्भिसेज प्रालि, जल्थल मनी ट्रान्सफर, रामप्रित मेमोरियल मनी ट्रान्सफर र एटी मनी ट्रान्सफरको खातामा जम्मा गर्ने गरेको खुलाएका छन्।
यसबाहेक उनले एन्ट्री भाइरस सप्लायर्स, अभियान्सु किराना पसल, बाबा डिबार इन्टरप्राइजेज, दुर्लभ ट्रेडर्स, मनीषा कुमारी साह, नेहा कुमारी साह, सुरज गन्गाई, मा ६३ छिन्नमस्ता इन्टरप्राइजेज, रिया ट्रेडर्स, आकाश इन्टरप्राइजेज, सद्गुरु ट्रेडर्स, ॐ ट्रेडर्स, सिटी मार्केट सर्भिसेज एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र गुल्सल गोला स्टोर्सलगायतका फर्म तथा व्यक्तिहरूको खातामा पनि हुन्डीको रकम जम्मा गर्ने गरेका थिए।
अनुसन्धानका क्रममा रामबाबु जयसवालले आफूले भारतबाट नेपाली रुपैयाँ नेपाल ल्याएर विभिन्न बैंक खातामा जम्मा गरे बापत ५-६ वर्षको अवधिमा २३ लाख कमिसन पाएको खुलाएका छन्। उनका अनुसार उनले एक लाख बापत २ सय ५० रुपैयाँ कमिसन पाउँथे। उनले खुलाएको कुल कमिसन रकमको आधारमा उनी एक्लैले भारतबाट करिब ८८ करोड रुपैयाँ बराबर हुन्डी गरेर नेपाल भित्र्याएको देखिन्छ।
जयसवालका अनुसार जवजव भारतबाट अवैध रूपमा नेपालमा पैसा ल्याउनुपर्थ्यो उनलाई भारतमा रहेका हरिस जयसवालले ह्वाट्एसपमा सन्देश पठाउँथे। अनि उनी नेपाली नम्बर प्लेट रहेको मोटरसाइकलमै भारत विहार चम्पारणको धपधपवामामा रहेको हरिसको घर जान्थे। उनले त्यहाँ एक लटका न्यूनतम १० लाख नेपाली रुपैयाँ दिन्थे। एक हजार र पाँच सयको नोट रहेको सो रकम उनले मोटरसाइकलको सिटमुनि लुकाएर नेपाल भित्र्याउँथे।
त्यसपछि सो रकम कुन कुन बैंकमा जम्मा गर्ने वा कसलाई दिने भनेर हरिसले ह्वाट्सएपमै विवरण पठाउँथे। उनले सोही अनुसार ती रकम जम्मा गरिदिन्थे।
प्रभु ग्रुपको भूमिका र सीआईबीको एक्सन
प्रहरीले अनुसन्धानको प्रारम्भ प्रभु मेनेजमेन्टको ठगीबाट सुरु गरेको थियो। प्रभु मेनेजमेन्टको कारोबार प्रभु मनी ट्रान्सफरसँग जोडिएपछि अनुसन्धान गर्दा जयसवाल नामक व्यक्तिले पटक पटक पैसा जम्मा गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
अनुसन्धान प्रतिवेदन अनुसार प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा भारतबाट हुन्डी गरेर नेपाल भित्र्याएको रकम जम्मा हुने गरेको थियो। प्रभु म्यानेजमेन्ट प्रालिको सो खातामा शङ्कास्पद रूपमा एकै व्यक्तिले बारम्बार रकम जम्मा गरेको देखिएपछि सिआइबीले जयसवाललाई पक्राउ गर्यो।
उनले बाराको कोहल्बीमा रहेको सिटिजन्स बैंकको खातामार्फत रकम ओसारपसार गर्ने गरेको खुल्यो। प्रहरीले प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्ट प्रालिका सञ्चालकहरू कुसुम लामा, हेम कुमार महाजु, रामेश्वर सापकोटा, श्रुतिका तामाङ लामा, सन्तोष कुमार लामा तथा मुख्य बिचौलिया रामबाबु प्रसाद जयसवाललाई पक्राउ गर्यो।
हुन्डीमा प्रभुमाथि मात्रै अभियोग !
जिल्ला अदालतमा दायर भएको मुद्दामा देवी भट्टचन, कुसुम लामासहितमाथि सहकारीको रकम अपचलन र ठगीको अभियोगसँगै ६ करोडको हुन्डी कारोबार गरेकोमा नेपाल राष्ट्र बैंक ऐन अनुसारको समेत अभियोग लगाएको छ।
भारतबाट हुन्डीको रकम ओसारपसारमा प्रत्यक्ष संलग्न देखिएका जयसवालको बयान सिआइबीले नै लिएको हो। उनको बयानमा प्रभुसँगै इसेवासहित अन्य डिजिटल वालेट र मनी ट्रान्सफरहरू समेत संलग्न देखिए पनि प्रभुबाहेकबारे अभियोग पत्र मौन छ।
यसबारे जिज्ञासा राख्दा सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले अहिले रामबाबुले नाम पोलेका अन्य व्यक्ति तथा संस्थाहरूमाथि पनि सूक्ष्म अनुसन्धान भइरहेको बताए।
“यो प्रकरणमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन पनि आकर्षित हुने भएकाले हामीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेका छौँ,” प्रवक्ताले भने, “ठुला भनिएका वालेट कम्पनी र व्यक्तिहरूको खातामा शङ्कास्पद रकम देखिएकाले अनुसन्धानको दायरा फराकिलो बनाइएको छ।”
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले यसबारे सिआइबीले अनुसन्धान गरिरहेको र बैंकले सिआइबीलाई सहयोग गरिरहेको बताए।
‘अफिसियल जानकारी पाइयो भने वा सुपरभिजनको क्रममा त्यस्तो पाइयो भने कारबाही गर्ने प्रक्रिया छ। राष्ट्र बैँकको ऐन र नियमावलीले दिएको व्यवस्था अनुसार कारबाही हुन्छ,” उनले उकेरासँग भने “कहिलेकाहीँ राष्ट्र बैङ्कको दायरा कति हो भनेर प्रश्न उठिरहेको हुन्छ। ठगी वा आपराधिक केस छ भने सिआबीले नै हेर्ने हो। त्यसमा राष्ट्र बैङ्कको पनि सहयोग हुन्छ। अहिलेको केसमा पनि राष्ट्र बैङ्कले सहयोग नै गरेको छ। यो विषयमा सुपरभिजन डिपार्टमेन्टले हेर्छ/ हेरिरहेको छ।”
मंसिर २२, २०८२ सोमबार १५:४७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।