एनपीएलमा प्रहार भएका ५१० चौका बापत एनसेलले दुई हजार बढी शैक्षिक सामग्री बाँड्ने
काठमाडौं : एनसेल फाउन्डेसनले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रहार भएका चौकाका आधारमा २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ।
‘हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने’ अभियान अन्तर्गत बिहीबारसम्मका खेलमा प्रहार भएका कुल ५१० चौका बापत २ हजार ४० थान शैक्षिक सामग्री वितरण सुनिश्चित भएको हो।
फाउन्डेसनले प्रतियोगितामा प्रहार हुने हरेक चौका बराबर ४ वटा शैक्षिक सामग्री सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
हालसम्म पोखरा एभेन्जर्सका एडम रोसिङटनले सर्वाधिक २७ चौका प्रहार गर्दै १०८ थान सामग्रीको योगदान गरेका छन्। उनीपछि लुम्बिनीका डार्सी सर्ट (१९ चौका), काठमाडौंका बेन चाल्र्सवर्थ र सुदूरपश्चिमका विनोद भण्डारी (१७/१७ चौका) रहेका छन्।
विद्यार्थीलाई दिइने शैक्षिक किटमा झोला, कापी, पेन्सिल, ज्यामितीय बक्स लगायतका सामग्री समावेश हुनेछन्। गत वर्ष पनि एनसेलले ६५३ चौका बापत प्रतिबद्धता गरिएको भन्दा बढी अर्थात् ९ हजार थान शैक्षिक सामग्री वितरण गरेको थियो।
मंसिर २२, २०८२ सोमबार १२:५१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।