सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने छोराको हत्या, भाग्दै गर्दा नागढुंगाबाट पक्राउ

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने छोराको हत्या, भाग्दै गर्दा नागढुंगाबाट पक्राउ

काठमाडौं : काठमाडौंको सिनामंगलमा नेपाल प्रहरीका एक सहायक निरीक्षक (असई)ले आफ्नै ४ महिने नाबालक छोराको हत्या गरेका छन्।

आइतबार दिउँसो डेरामा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले असई पुष्कर कार्कीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार कार्कीले आफ्नै कोठामा छोराको घाँटी थिचेर हत्या गरेका हुन्।

घटनालगत्तै फरार भएका कार्कीलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ४ महिने शिशुको ब्रेन ट्युमरको उपचार भइरहेको थियो।

छोराको उपचारकै विषयलाई लिएर असई कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच आइतबार विवाद भएको थियो। सोही विवाद उग्र बन्दै जाँदा कार्कीले आवेशमा आएर छोराको हत्या गरेको पाइएको छ।

कार्कीले छोराको हत्या गर्नुका साथै श्रीमती कृष्णालाई पनि कुटपिट गरेर घाइते बनाएका छन्। कुटपिटबाट घाइते भएकी कृष्णाको अहिले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

अभियुक्त कार्की र उनकी श्रीमती कृष्णा दुवै जना नेपाल प्रहरीमा कार्यरत छन्। कार्की असई र कृष्णा प्रहरी जवान हुन्। उनीहरू दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए।

पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मंसिर २२, २०८२ सोमबार ११:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।