निर्वाचन प्रणालीमा सुधार अपरिहार्य : अध्यक्ष यादव

निर्वाचन प्रणालीमा सुधार अपरिहार्य : अध्यक्ष यादव

धरान : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन्।

सुनसरीको धरानमा बिहीबार पत्रकारहरूसँगको अन्तरक्रियामा यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएको उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे।

आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन भयमुक्त वातावरण र सुरक्षाको प्रत्याभूति राज्यले सुनिश्चित गर्नुपर्ने बताए। वर्तमान सरकारले सुशासन, समानुपातिक पहुँच र भ्रष्टाचार नियन्त्रणजस्ता जनमहत्त्वका मुद्दा समाधानतर्फ अघि बढ्न नसकेको उनको आरोप थियो। जेनजी आन्दोलनले उठाएका धेरै मुद्दा समाधानका चरणमा नपुगेका र यसबारे सरकार जिम्मेवार नदेखिएको उनको भनाइ थियो।

सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै चुनावी प्रक्रियालाई अविलम्ब अगाडि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष यादवले संसद् पुनर्स्थापना भए पनि दिगो राजनीतिक समाधान खोज्न आवश्यक रहेको बताए।

'जेनजी आन्दोलनपछि उठाइएका मागहरू अझै सम्बोधन हुन सकेका छैनन्, जसका कारण राजनीतिक स्थायित्व पनि कमजोर बनेको छ,' उनले भने। अध्यक्ष यादवले राष्ट्रिय सुविधा सेवा तथा राज्यका अङ्गमा सबै समुदायको समानुपातिक पहुँच सुनिश्चित हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताए। 

मंसिर १८, २०८२ बिहीबार २०:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।