रुद्धमती खोलामा खसेर साइकल यात्रीको मृत्यु
काठमाडौं : काठमाडौं महानगरपालिका- २९ रुद्धमती पुल नजिक साइकलसहित खोलामा खसेर एक व्यक्तिको मृत्यु भएको छ।
काभ्रोपलाञ्चोक मन्जनदेवपुर नगरपालिका १ घर भई काठमाडौंको शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरीको मृत्यु भएको काठमाडौं प्रहरी परिषरका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए।
रातको समयमा काम सकेर कोठामा फर्किने क्रममा खोलामा खस्दा उनको मृत्यु भएको भट्टराईले उकेरालाई बताए। ‘रातको समयमा काम सकेर फर्किएको अवस्थामा पुलबाट खसेको देखिन्छ। परिवारले सनाखत गरिसक्नु भएको छ,’ उनले भने।
साथै, उक्त खोलामा बारम्बार दुर्घटना घटेपछि बिहीबार नै स्थानीयले पुल नजिक बार लगाएका छन्। यस अघि पनि उक्त क्षेत्रमा सवारी साधन खस्दै आएको थियो।
मंसिर १८, २०८२ बिहीबार १७:११:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।