१० दिन धामीको भर, अन्तिममा ‘बलेरो एम्बुलेन्स’को सहारा : मृत्युको मुखबाट यसरी जोगिइन् गीता
बुटवल : गुल्मीको मालिका गाउँपालिका-२, सल्लाखर्ककी १८ वर्षीया गीता पुनलाई १० दिनदेखि ज्वरोले थला पार्यो।
सुरुमा सामान्य ज्वरो भन्ठानेर उनले न अस्पताल जाने सुर गरिन्, न त परिवारले नै। गाउँले चलन, उनले परम्परागत धामीझाँक्रीकै भर परिन्। तर, १० दिन बित्दा पनि ज्वरोले छोडेन, बरु झन्-झन् गाल्दै लग्यो।
अघिल्लो पटक बिरामी हुँदा पनि यसैगरी घरमै उपचार गर्ने र धामीझाँक्री देखाउने गरेकी थिइन्। त्यतिबेला निको भयो, त्यसैले यसपटक पनि त्यही बाटो रोजिन्। तर, परिस्थिति फरक भयो।
१० दिनसम्म पनि बीसको उन्नाइस नभएपछि उनी ओछ्यानमै थलिइन्। उभिएर दुई पाइला हिँड्न पनि नसक्ने भइन्। शौचालय जाँदा रिँगटा लागेर लडिन्, मुखमा चोट लाग्यो।
रोगले च्याप्दै लगेपछि र धामीझाँक्रीको भरले काम नगरेपछि बल्ल परिवारको चेत खुल्यो। उपचारका लागि बागलुङको बडिगाढ गाउँपालिका-७, भिङगिठे लैजाने निधो भयो। तर, बिरामीलाई अस्पतालसम्म कसरी पुर्याउने भनेर परिवारलाई पिरोल्यो।
दुर्गमको पीडा : न बाटो, न गाडी
गुल्मीको साविक दर्लिङ गाविसमा पर्ने सल्लाखर्क गाउँ भौगोलिक रूपमा अति दुर्गम छ। सदरमुकाम तम्घासबाट ७ कोस टाढा रहेको यो बस्तीलाई अझै पनि भरपर्दो सडक सञ्जालले छोएको छैन।
गाउँमाथिको च्यानडाँडासम्म सडकको ट्रयाक त खुलेको छ, तर आकाशबाट सिमसिम पानी पर्नासाथ गाडी चल्न सक्दैनन्।

दुईपाङ्ग्रे मोटरसाइकल र कहिलेकाहीँ आउने पिकअप बलेरोबाहेक अरू सवारीको यहाँ कल्पना पनि गर्न सकिँदैन। सहज यातायात नहुँदा यहाँका बासिन्दाले बिरामी पर्दा डोकोमै बोकेर अस्पताल लैजानुपर्ने बाध्यता पुस्तौँदेखिको हो।
गीताको हकमा पनि डोकोमै बोकेर भिङगिठे पुर्याउने सल्लाह भयो। तर, विपद्का बेला बोक्ने मान्छे पनि समयमा जुट्न सकेनन्।
बागलुङको सिमानासँग जोडिएको सल्लाखर्कबाट हिँडेरै भिङगिठे पुग्न सामान्य मानिसलाई डेढ घण्टा लाग्छ। त्यो पनि साँघुरो भीर र जंगलको बाटो। उभिनसमेत नसक्ने गितालाई त्यो बाटो बोकेर लैजान असम्भव जस्तै थियो।
अन्ततः गाडीमै लैजाने उपाय खोजियो। तर, गाउँमा गाडी थिएन। भिङगिठेबाट बल्गास-नयाँगाउँ हुँदै पाटाखर्क जाने कच्ची ट्रयाकमा मुस्किलले पिकअप बलेरो मात्र चल्छ।
छिमेकीको पहलमा बल्गासमा रहेको एउटा बलेरोलाई खबर गरियो। बलेरो सल्लाखर्कमाथिको बाटोमा आइपुग्यो। गितालाई बोकेर गाडीसम्म पुर्याइयो र त्यहाँबाट भिङगिठे लगियो।
१५ किलोमिटरको जोखिमपूर्ण यात्रा एक घण्टामा पार गरेपछि गीता भिङगिठेस्थित रिभर सिटी फार्मेसी तथा लम्साल प्रयोगशालामा आइपुगिन्।
जाँच गर्दा उनलाई टाइफाइड र रगतमा इन्फेक्सन देखिएको छ। हाल उनको बुटवलमा उपचार भइरहेको छ।
बलेरो : दुर्गमको ‘एम्बुलेन्स’
सल्लाखर्कमा गीता मात्र होइनन्, यातायातको सास्ती भोग्ने धेरै छन्। ६ महिनाअघि यही गाउँका ८७ वर्षीय दिजाराम पुन बिरामी परे।
तत्काल अस्पताल लैजान गाडी पाइएन। जताततै हारगुहार गर्दा पनि गाडी नभेटिएपछि गाउँलेहरूले उनलाई डोकोमै बोकेर भिङगिठे पुर्याएका थिए।
यहाँका बासिन्दाका लागि पिकअप बलेरो सामान र मान्छे ओसार्ने साधन मात्र होइन, आपत्को ‘एम्बुलेन्स’ पनि हो।
फोरह्विलर बलेरोले जसोतसो ट्रयाक खुलेको ठाउँसम्म पुगेर बिरामीको उद्धार गर्दा स्थानीयले यसलाई ‘दुर्गमको एम्बुलेन्स’ भन्ने गरेका छन्।
स्थानीय रिखिराम पाध्य भन्छन्, ‘यहि जीप भएर धेरैले उपचार पाएका छन्। तर बाटोको अवस्था बेहाल छ। साँघुरो र अप्ठ्यारो बाटो भएकाले जोखिम उत्तिकै छ।’
उनी थप्छन्, ‘त्यो गाडी पनि समयमै आउन्न। विरामी हुँदा यहाँ हामलाई धेरै दुःख छ। सल्लाखर्क, तल्लो पाटाखर्क, उपल्लो पाटाखर्क, दादर, रानीगाउँमा कहिले गुड्ला सरर गाडी अनि सुविधा होला?’
गाउँमा अस्पतालको पहुँच नहुँदा र चेतनाको कमीले गर्दा अझै पनि बिरामीहरू सुरुमा धामीझाँक्रीकै शरणमा पर्छन्।
जब रोगले थला पार्छ, अनि मात्र अस्पताल खोज्ने बानीले धेरैले अकालमा ज्यान गुमाउने गरेको अनुभव सुनाउँछन् ‘गाउँका डाक्टर’ भनेर चिनिने नारायण लम्साल।
भिङगिठेमा फार्मेसी र ल्याब चलाउँदै आएका सीएमए लम्साल मोटरसाइकलमा गाउँ-गाउँ पुगेर सेवा दिन्छन्।
उनी भन्छन्, ‘स्वास्थ्यचौकी टाढा छ। गाउँमा अझै पनि अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास भएको छैन। अन्तिम अवस्थामा अस्पतालमा आउने गर्छन्।’
सडक र बिजुलीको पर्खाइ
मालिका गाउँपालिका-२ का वडाध्यक्ष विनोद श्रीसका अनुसार वडामा सडक सञ्जाल विस्तारको काम भइरहेको छ।
‘गत वर्षको बाढी पहिरोले केही ठाउँमा क्षति पुर्यायो। नयाँ सडक योजना पनि अघि बढेको छ’, उनले भने।
वडाध्यक्ष श्रीसले दर्लिङ-च्यानडाँडा-दादर हुँदै भिङगिठे जोड्ने सडकका लागि यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए।
यो सडक बनेमा सल्लाखर्क र तल्लो पाटाखर्कका बासिन्दा २० मिनेटमै मध्यपहाडी लोकमार्गसँग जोडिने उनको दाबी छ।
यद्यपि, अहिले पाटाखर्क, सल्लाखर्कमा सडकको ट्रयाक खुले पनि धेरै गाउँ अझै सडक सञ्जालभन्दा बाहिर छन्।
बाँदर र बँदेलले बालीनाली सखाप पार्दा हैरान भएका यहाँका बासिन्दा सञ्चार र बिजुलीको भरपर्दो सुविधाबाट पनि वञ्चित छन्। सामुदायिक बिजुली पुगे पनि राष्ट्रिय प्रसारण लाइन बल्ल जडान हुँदैछ।
मंसिर १८, २०८२ बिहीबार १३:४०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।