तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार-२०८२’ घोषणा

तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार-२०८२’ घोषणा

काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा ‘अन्तर्दृष्टि पुरस्कार-२०८२’ घोषणा गरिएको छ।

डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित यो पुरस्कार यस वर्ष तीन फरक विधामा प्रदान गरिने भएको हो।

अन्तर्दृष्टि पुरस्कार समितिले एक विज्ञप्ति जारी गर्दै नमुना शिक्षक, विद्यार्थी र पत्रकारिता विधामा पुरस्कार घोषणा गरेको हो।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार बागमती प्रदेशस्थित काठमाडौंको ल्याबोरेटरी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक क्षेत्रबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा शिक्षण सिकाइ क्रियाकलाप र अपाङ्गताप्रतिको सकारात्मक सोचका लागि उनलाई छनोट गरिएको समितिले जनाएको छ। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ।

त्यस्तै अन्तर्दृष्टि हातेमालो पुरस्कार ल्याबोरेटरी माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रसिखा भट्टराईलाई प्रदान गरिने भएको छ।

दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गर्ने, सहयोगी भूमिका खेल्ने र सिकाइमा मद्दत गर्ने साथीका रूपमा भट्टराईलाई छनोट गरेका हुन्। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

त्यसैगरी पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच निर्माणमा भूमिका खेलेको भन्दै यो वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनमा कार्यरत पत्रकार आरती चटौतलाई प्रदान गरिने भएको छ।

डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापा सम्मिलित समितिले चटौतलाई छनोट गरेको हो। पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ।

अपाङ्गताप्रति समाजको नकारात्मक र विभेदपूर्ण सोच परिवर्तन गरी समता र सहकार्यको वातावरण बनाउने उद्देश्यले स्थापित यी पुरस्कारहरू आगामी वसन्त पञ्चमीका दिन प्रदान गरिने पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जानकारी दिए।

मंसिर १८, २०८२ बिहीबार ०८:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।