यस वर्षको हिउँदमा वर्षा कम, तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण

यस वर्षको हिउँदमा वर्षा कम, तापक्रम औसतभन्दा बढी रहने प्रक्षेपण

काठमाडौं :  यस वर्षको हिउँद (मङ्सिर १५ देखि फागुन १६ गतेसम्म) मा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ।

वर्षा कम भए पनि अधिकतम र न्यूनतम तापक्रम भने औसतभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले बुधबार सार्वजनिक गरेको मौसमी आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा गण्डकी प्रदेशका उत्तर-पश्चिम भू-भागमा वर्षाको अवस्था मिश्रित रहने सम्भावना छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमको पूर्वी तथा दक्षिणी भेग, कर्णाली र बाग्मतीको दक्षिण, लुम्बिनीको पश्चिम, मधेशको उत्तर र कोशी प्रदेशको मध्य तथा पूर्वी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ।

यस्तै, सुदूरपश्चिम र कर्णालीको मध्य भू-भाग, लुम्बिनीको मध्य-पूर्वी, गण्डकीको पूर्वी, बाग्मतीको मध्य-उत्तरी, मधेशको दक्षिणी र कोशीका केही भू-भागमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। देशका बाँकी स्थानमा पनि कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।

विभागका अनुसार यसपालि जाडोयाममा पनि दिनको (अधिकतम) र रातको (न्यूनतम) तापक्रम सरदरभन्दा बढी नै रहने देखिएको छ।

गण्डकीको उत्तरी र दक्षिणी भेग, बाग्मतीको दक्षिण र कोशीको उत्तरी तथा दक्षिण-पश्चिम भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

कर्णाली र लुम्बिनीको उत्तरी भेग तथा कोशी, बाग्मती र गण्डकीका बाँकी भू-भागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

यद्यपि, लुम्बिनीको दक्षिण र मधेस प्रदेशमा भने अधिकतम तापक्रमको अवस्था सरदर वा सोभन्दा कम/बढी हुने समान सम्भावना छ।

देशभर नै न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ।

सुदूरपश्चिमको उत्तरी र दक्षिण-पश्चिम, कर्णालीको मध्य-उत्तरी, लुम्बिनी र मधेशका अधिकांश भू-भाग, बाग्मतीको उत्तर-पूर्व र दक्षिण-पश्चिम तथा कोशीको दक्षिण र उत्तर-पश्चिम भू-भागमा न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

मंसिर १८, २०८२ बिहीबार ०७:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।