उज्यालो नेपालको घोषणा सभामा सुमनाले भनिन् “म नयाँ शक्तीको एकताको पक्षमा छु, नत्र पुरानै दल आउँछन्”
काठमाडौं : सुमना श्रेष्ठले नागरिक भएर बाँच्न राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्।
बुधवार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार्टीले मूल मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताइन्।
“भदौ २३ र २४ गतेको भ्रष्टाचार, नातावाद र कृपावादको अन्त्यको मूल मुद्दालाई अंगिकार गर्नुहोला। कुनै पनि नागरिकले नागरिक भएर बाँच्न कुनै राजनीतिक दलको फेर समात्नुपर्ने, कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य यो पार्टीले गरोस्।”
उनले आफू कुनै दलमा नदेखिनुको कारण खुलाउँदै अहिले आफू नयाँ शक्तीबीच एकताको अभियानमा रहेको र एकताको बाटोमा गएर पुराना पार्टीको संस्कारलाई फाल्न फराकिलो छाती बनाउनुपर्ने बताइन्।
“धेरैले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ। एकता हुनै पर्छ। एकताको बाटोमा गएर यो पुराना पार्टीको संस्कारलाई फाल्नको लागि फराकिलो छाती बनाऊ,” उनले भनिन् “अबको बाटो भनेको सुशासनको बाटो हो र विभेदरहित समाज पनि अर्को बाटो हो।”
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदहुँदै शिक्षामन्त्री समेत भएकी सुमनाले केही समय अगाडि रास्वपा छाडेकी थिइन्। त्यसयता उनी नयाँ शक्ति निर्माण गर्ने अभियानमा छिन्।
मंसिर १७, २०८२ बुधबार १७:०८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।